- जापानका प्रधानमन्त्री सिन्जो आबेसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र जापानबीचको गठबन्धन प्रशान्त क्षेत्रको शान्तिका लागि महत्वपूर्ण भएको बताएका छन्। ह्वाइट हाउसमा भएको वार्तापछि ट्रम्पले जापानको सुरक्षाप्रति अमेरिका प्रतिबद्ध रहेको बताए। जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाबाट रहेको परमाणु खतरा दुवै देशका लागि उच्च प्राथमिकता भएको बताए। धम्की जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि ट्रम्पकै विचारसँग मिल्ने गरी दुई देशबीचको व्यापार र आर्थिक सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए। यसअघि ट्रम्पले अमेरिकाको जापानसँगको व्यापार घाटाको विषय उठाउँदै जापानको कार निर्माता कम्पनी टोयोटालाई थप कर तिर्न लगाउने धम्की दिएका थिए। शुक्रबार भएको संयुक्त पत्रकार सम्मेलनमा भने ट्रम्पले जापानलाई एउटा महत्वपूर्ण र दृढ सहयोगी भनि व्याख्या गर्दै वासिङ्टन दुईपक्षीय सम्बन्धलाई थप निकट बनाउन प्रतिबद्ध रहेको बताए। ट्रम्पले अमेरिका जापान व्यापार सम्झौता निस्पक्ष र पारष्परिक हुनु पर्ने बताए । प्रवर्द्धन उनले साझा स्वार्थको प्रवर्द्धन गर्दै प्रशान्त क्षेत्रमा प्रतिरक्षा क्षमता विकास गर्न निरन्तर लागि पर्ने पनि बताए। उनले भने, "यो महत्वपूर्ण छ, जापान र अमेरिका दुवैले गठबन्धनको सुरक्षा र प्रतिरक्षा क्षमता सुदृढ गर्न ठूलो लगानी गरिरहनुपर्छ, ताकि त्यसले समयक्रममा हामी दुवैलाई थप बलियो बनाउँदै लैजाओस् र हामीहरुलाई कसैले कुनै हस्तक्षेप गर्न नसकुन्।" आबेले ट्रम्पले खारेज गर्न चाहेको ट्रान्स-प्यासिफिक व्यापार सम्झौताबारे दुई नेताहरुले पछि कुराकानी गर्ने बताएका छन्। आबे र ट्रम्प दुवै सप्ताहन्तमा गल्फ खेल्न र थप कुराकानी गर्न फ्लोरिडा गएका छन्। अमेरिकी सेनाले वकिनावा टापूसहित जापानका अन्य क्षेत्रमा पनि आफ्नो महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ जसलाई सामरिक दृष्टिकोणले महत्वपूर्ण ठानिन्छ। चीनले सैन्य महाशक्ति वृद्धि गर्दै लगिरहेको छ भने उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिवन्ध हुँदाहुँदै पनि परमाणू कार्यक्रम संञ्चालन गरिरहेको छ। यस्तो बेला जापानले आफ्नो क्षेत्रमा स्थीरता कायम गर्नका लागि अमेरिकी प्रतिवद्धताको प्रत्याभूति चाहेको छ।(BBC)