काठमाडौं/
संयुक्त राष्ट्र संघको विकासका लागि वित्त सम्बन्धी चौथो अन्र्तराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा सोमबारदेखि सुरू भएको छ ।
सो सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखका साथै प्रतिनिधिहरूको सहभागी रहेको बताइएको छ । सो सम्मेलनको उद्घाटन सत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेज, संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गर्नुभएको छ । सो उद्घाटन सत्रमा प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायतको सहभागी रहेको जनाइएको छ । सो सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्ने बताइएको छ । विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहने बताइएको छ ।।