पर्यटन प्रवर्द्धनमा अवैतनिक वाणिज्यदूतले सहयोग गर्ने
Everest Fuji News२०७४ भदौ १३ मा प्रकाशितPublished at 2017 Aug 29
काठमाडौं । विभिन्न देशका अवैतनिक नेपाली वाणिज्यदूतले नेपाललाई अन्तरराष्ट्रिय बजारमा चिनाएर पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको पदयात्रा पर्यटन विकासका लागि स्थापना भएको ट्रेकिङ एजेण्ट्स एशोसिएशन अफ नेपाल (टान)ले आइतवार राजधानीमा आयोजना गरेको ‘नेपालको पर्यटनमा अवैतनिक वाणिज्यदूतको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा पर्यटन क्षेत्रका विषयमा छलफल गरिएको हो ।
छलफलमा सहभागीले हवाई सेवाको पहुँच नहुनु, राजनीतिक अस्थिरता र नेपालका बारेमा नकारात्मक प्रचार बढी हुने गरेकाले पर्यटन आगमनमा असर पर्ने गरेको भन्दै पर्यटन विकासका लागि कमी कमजोरी सच्याई सामूहिक प्रयासको खाँचो रहेको बताएका थिए ।
बेल्जियमका अवैतनिक वाणिज्यदूत आङछिरिङ शेर्पाले द्विपक्षीय सम्बन्ध स्थापना, सांस्कृतिक आदानप्रदान, व्यापार अभिवृद्धि गर्ने आफ्नो दायित्व भए पनि पर्यटन प्रवद्र्धनका लागि आफूले देशका प्राकृतिक सौन्दर्य, साहसिक पदयात्रा र अद्वितीय पर्यटकीय सम्पदाका बारेमा जानकारी गराएको बताए । पोर्चुगलका अवैतनिक वाणिज्यदूत राजेन्द्र खेतानले पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्डलाई सक्रिय बनाई पर्यटन व्यवसायी संस्थाको पहलमा विदेशी दूतावाससँग समन्वय गर्न टोली गठन गर्नुपर्ने सुझाव दिए । लग्जेम्बर्कका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेले बेलाबखत पर्यटक आउने मुलुकका राष्ट्रले ‘ट्राभल एडभाइजरी’ जारी गर्ने हुँदा नेपालको अवस्थाको सत्यतथ्यको जानकारी समयमै गराउन सक्नुपर्ने बताएका छन् ।
टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले वाणिज्यदूतसँग पर्यटन क्षेत्रलाई महŒव दिन आग्रह गर्दै नेपालको पदयात्रा र साहसिक पर्यटनको महत्त्वबारेमा अझ बढी प्रचारप्रसार गर्नुपर्ने खाँचो औंल्याएका छन् । कार्यक्रममा चिलीका अवैतनिक वाणिज्यदूत वसन्त मिश्र, माल्टाका अवैतनिक वाणिज्यदूत दिनेश श्रेष्ठ र युक्रेनका अवैतनिक वाणिज्यदूत करण वैद्यले नेपालको कम लगानीमा बढी प्रतिफल प्राप्त हुने आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटन उद्योगका लागि सरकार र निजीक्षेत्रको सहकार्य हुनुपर्ने विचार व्यक्त गरे । रासस