काठमाडौं/
सरकारले सन् २०२५ देखि ३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सोमबारबाट काठमाडौंमा सुरु राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले सन् २०२५ देखि ३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको शुभारम्भ गर्नुभएको हो ।कार्यक्रममा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगारी प्रवद्धन दशक रोजगारी सिर्जना गर्ने उद्यमशिलता बृद्धिको दशक भएको बताउनुभयो । उहाले मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व रहेको बताउनुभयो ।
उहाले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने बताउनुभयो । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी १० वर्षभित्र उद्यमशीलता बढाउँदै सरकारले श्रमशक्तिको न्यायोचित हिसाबले मूल्यांकन गर्ने बताउनुभयो । उहाले आन्तरिक रोजगार प्रवद्र्धन दशकमा निजी क्षेत्रको प्रवद्र्धन र विस्तारमार्फत थप रोजगारी सिर्जना गर्ने धारणा राख्नुभयो ।