ललितपुर/
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
बुधबार रास्वपाका नेताहरु ललितपुरस्थीत आयोगको कार्यालय पुगेर सामान्य प्रक्रिया समेत पुरा नगरि लामिछानेलाई ज्यादतीपूर्ण ढंगले पक्राउ गरेको र सो क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भएको भन्दै निवेदन दर्ता गराएका हुन् । रास्वपाले लामिछानेलाई पक्राउ गर्दा भएको मानव अधिकारको उल्लंघनको घटनाको छानविन गर्दै दोषीलाई कारवाही गर्न समेत माग गरेको छ । रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले सामान्य प्रक्रिया पुरा नगरि अभद्र व्यवहार र धरपकडसहित लामिछानेलाई पक्राउ गरेको भन्दै छानविनका लागि आयोगमा निवेदन दर्ता गरिएको जानकारी दिनुभएको छ । राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गरेकाले छानविन गरि दोषीलाई कारवाही गर्न माग गरिएको उहाँले बताउनुभएको छ ।