पर्यटकसँगै बढ्यो एक्यापको आम्दानी

Everest Fuji News २०७४ भदौ ९ मा प्रकाशित       Published at 2017 Aug 25


कास्की । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा पर्यटक आगमन वृद्धि भएपछि पर्यटक शुल्कबापतको आम्दानीसमेत बढेको छ । सन् १९५० जुन ३ तारिखका दिन सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेसँगै यस पदमार्गप्रति आकर्षण बढ्दै गएको हो । नेपालमा आउने पर्यटकमध्ये ६० प्रतिशतले यो क्षेत्रको भ्रमण गर्ने पर्यटन व्यवसायीको दाबी छ । आर्थिक वर्ष २०७३/७४ मा एक्यापले पदयात्रा गर्ने पर्यटकबाट २३ करोड १५ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको छ । यो शुल्क हालसम्मकै धेरै भएको टुरिजम अफिसर रश्मि आचार्यको भनाइ छ । सो अवधिमा १ लाख ३८ हजार ८ सय १५ पर्यटकले सो क्षेत्रमा पदयात्रा गरेका थिए । एक्यापले आव २०७२/७३ मा प्रवेश शुल्कबापत १४ करोड ४२ लाख ६ हजार ६ सय रुपैयाँ आम्दानी गरेको आचार्यले जानकारी दिइन् । सो वर्ष ८१ हजार ८ सय ७८ पर्यटकले पदयात्राको अनुमति लिएका थिए । महाभूकम्पको प्रभावले आव २०७१/७२ को तुलनामा २०७२/७३ मा कम पर्यटक पदयात्राका लागि आएका थिए । आव २०७१/७२ मा १ लाख १४ हजार १ सय ८७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सार्क मुलुकका पर्यटकसँग प्रतिव्यक्ति १ हजार र अन्य देशका पर्यटकसँग प्रतिव्यक्ति २ हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ । विभिन्न सङ्घसंस्था र सरकारले जुन ३ लाई अन्नपूर्ण दिवसका रूपमा मनाउँदै आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन सङ्ख्या क्रमिक रूपमा वृद्धि हुँदै गए पनि कच्ची सडक निर्माणले पदायात्रा छोटिँदै गएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष दीपक अधिकारीले बताए । सडक निर्माणसँगै २१ दिनको अन्नपूर्ण चक्रीय पदयात्रा बेँशीशहर, ताल, चामे, मनाङ, थोरङला पास हँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम, मार्फा, तातोपानी, घोरेपानी हुँदै पोखरासम्मको पदयात्रा घटेर हप्ता दिनमा झरेपछि पर्यटकले पदयात्रामा गर्ने खर्च पनि घटेको हो । पदयात्रा अवधि छोटिएसँगै यस क्षेत्रका स्थानीयको पर्यटन व्यवसायबाट हुने आम्दानी पनि घटेको छ । पर्यटन व्यवसायीका अनुसार अन्नपूर्ण फेरो २१ दिनको पदायात्रा गर्दा एक जना पर्यटकले कम्तीमा ५० देखि ६० हजार रुपैयाँसम्म खर्च गर्छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.