पर्यटक आगमनमा सुधार, वर्षदिनमा साढे ८ लाख भित्रिए

Everest Fuji News २०७४ श्रावण १४ मा प्रकाशित       Published at 2017 Jul 29


काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या बढेको छ । आर्थिक वर्ष २०७३–७४ मा करिब साढे ८ लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार गत आवमा ८ लाख ४५ हजार १४७ पर्यटक नेपाल भ्रमणका लागि भित्रिएका छन् । सन् २०१६ मा ७ लाख २९ हजार ५५० पर्यटक नेपाल भित्रिएका थिए । क्रमशः बढ्दै गएको पर्यटक आगमनको यो संख्या हेर्दा भूकम्प र नाकाबन्दीपछि सुस्ताएको नेपालको पयर्टन बजार पुनः लयमा फर्किने देखिएको छ । भूकम्प र नाकाबन्दीका बेला नेपालको पर्यटन बजार सुस्ताएको थियो । आर्थिक वर्षको अन्त्यतिर पर्यटन आगमनमा वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार नेपाल घुम्न आउने पर्यटकमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै छ । १ लाख ४६ हजार ४५६ भारतीय पर्यटक गत आवमा नेपाल भित्रिएका छन् । चीनबाट १ लाख ७ हजार ३५९ जना पर्यटक आएका छन् भने अमेरिकाबाट ६२ हजार ३०४ र श्रीलंकाबाट ५८ हजार ७८७ पर्यटक नेपाल आएका छन् । बेलायतबाट ५१ हजार ३४२ जना नेपाल आएका छन् भने थाइल्यान्डबाट ३१ हजार १७८ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०१५ मा ५ लाख ३६ हजार पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१४ मा पर्यटक आगमनको संख्या करिब ८ लाख थियो । सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक ल्याउने योजना सार्वजनिक गरेको छ । यो संख्यामा पर्यटन भित्र्याउन नेपाल पर्यटन बोर्डले प्रचार प्रसारमा जोड दिनुपर्ने पर्यटक व्यवसायीहरुले सुझाव दिँदै आएका छन् । होटल संघ (हान)का प्रवक्ता विनायक शाह भिजन २०२० योजना पूरा गर्नका लागि सरकारी निकायको महत्पवूर्ण भूमिका हुने बताउँछन् । उनी भन्छन्, “हामी सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटकलाई राख्न सक्ने होटल पूर्वाधार बनाउँदै छौं । यो लक्ष्यलाई भेट्टाउन पर्यन बोर्डसँगै पर्यटनसँग जोडिने सरकारका अन्य निकायले पनि यसमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।” सरकारले गम्भीर भएर सोच्ने र त्यही अनुसारका कार्यक्रम र पूर्वाधारमा जोड दिने हो भने पर्यटक नेपाल आउने दरलाई सहजै बढाउन सकिने शाहको भनाइ छ । यता पर्यटन बोर्डका प्रवक्ता सुधन सुवेदी पर्यटन प्रवद्र्धनका लागि बोर्डले सन् २०१७ लाई युरोपका विभिन्न देशमा नेपाल पर्यटनका लागि उपयुक्त गन्तव्य भएको सूचना प्रवाह गर्न सुरु गरिसकेको बताउँछन् । “पर्यटनका लागि हामी सुरक्षित छौं र उपयुक्त गन्तव्य हो भनेर भिडियो सामग्री पनि तयार पारेर युट्युब तथा सामाजिक सञ्जाल मार्फत प्रचारप्रसारमा लागिरहेका छौं ।” भूकम्प र नाकाबन्दीले पर्यटन आगमनमा असर गर्दा त्यसको प्रत्यक्ष असर यहाँका होटल व्यवसाय तथा पर्यटनसँग सम्बन्धित अन्य व्यववासायमा परेको थियो । ठूलो संख्यामा लगानी भएको होटल व्यवसाय र त्यसमा आश्रित व्यक्ति र उनका परिवार त्यसको मारमा परेका थिए । यद्यपि, होटल व्यवसायमा अहिले ठूलो मात्रामा लगानी हुँदै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.