अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तयारी पूरा

Everest Fuji News २०७४ आश्विन २४ मा प्रकाशित       Published at 2017 Oct 10


कास्की । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सबैका लागि पर्यटन’ मूल नाराका साथ आगामी बुधवारदेखि अन्नपूर्ण आधार शिविरमा हुन लागेको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइको आधार शिविरमा महोत्सव हुन लागेको हो । महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उङ्डयन राज्यमन्त्री सुमित्रा थरुनीले गर्ने महोत्सव मूल समारोह समितिका महासचिव दीलिप गुरुङले बताए । निर्वाचित जनप्रतिनिधिले समग्र अन्नपूर्ण गाउँपालिकाको आर्थिक विकास गर्न गाउँपालिकाअन्तर्गत पर्ने अन्नपूर्ण आधार शिविर (बेसक्याम्प) मा महोत्सवको आयोजना गर्न लागेका हुन् । गाउँपालिकाको आर्थिक, भौतिक र पर्यटकीय विकास गर्नका लागि दिगो आयस्रोत जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको बताइएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरका अनुसार महोत्सवसँगै आधार शिविरको पदयात्रालाई व्यवस्थित तुल्याएर पर्यटक आगमनमा उल्लेख्य सुधार गर्ने उद्देश्य महोत्सवको छ । सर्वप्रथम आरोहण प्रारम्भ गरिएको जेठो हिमालका रूपमा प्रसिद्ध अन्नपूर्ण हिमालको ऐतिहासिक महत्त्वलाई दृष्टिगत गरी महोत्सव आयोजना गर्न लागिएको कुँवरले बताए । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव मूल समारोह समितिको आयोजना र अन्नपूर्ण गाउँपालिका कास्की एवम् पर्यटन उप–समिति छोम्रोङको व्यवस्थापनमा बुधवारदेखि २०७५ जेठ २० गतेसम्म तीन चरणमा महोत्सव आयोजना हुने महोत्सव मूल समारोह समितिका संयोजक ललित गुरुङले बताए । ‘महोत्सवले पर्यटन प्रवर्द्धन हुने र यसले आर्थिक विकासमा सहयोग मिल्छ,’ उनले भने । महोत्सवको समापन जून ३ (आगामी जेठ २०) मा अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर घान्द्रुकमा गरिने उनले बताए । कार्यक्रमको पहिलो चरणमा अन्नपूर्ण आयोजकका अनुसार महोत्सवमा फोटो प्रदर्शनी, हिमाली तथा लेकाली वन्यजन्तुको अवलोकन, हिमशृङ्खलाको दृश्यावलोकनलगायत कार्यक्रम राखिएको छ । महोत्सव सम्पन्न गर्न ललित गुरुङको संयोजकत्वमा ३५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ भने अन्य १६ विभिन्न उपसमिति र ७२ सदस्यीय सल्लाहकार समितिसमेत बनाइएको छ । महोत्सव सम्पन्न गर्न करीब १ करोड ५ लाख खर्च लाग्ने अनुमान छ । महोत्सवमा आउने पाहुनालाई लक्षित गरी अन्नपूर्ण पदमार्ग क्षेत्रमा परम्परागत होटल तथा व्यवसायको इतिहास झल्कने खालका अस्थायी आवास निर्माण गरिएको परम्परागत आवास निर्माण उपसमितिका संयोजक जगन गुरुङले जानकारी दिए । महोत्सव आउने पाहुनालाई आवश्यक पर्ने अस्थायी आवासलगायत सम्पूर्ण तयारी पुरा भएको स्थानीय व्यवस्थापन उपसमितिका संयोजक जगनरास गुरुङले बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.