काठमाडौं : पर्याप्त पिउने पानी अभावमा काकाकुल बनेको काठमाडौं मेलम्ची पानीको व्यग्र पर्खाइमा छ। तर, मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं भित्रिएसँगै यसले उपत्यकाका नदी किनार आसपास एवं केही गहिरो क्षेत्रमा बढ्ने डुबानको जोखिम तर्फ भने धेरैको ध्यान पुगेको छैन। मेलम्चीको पानी काठमाडौं भित्रिने समय नजिक आइसक्दा पनि सम्बद्ध निकाय ढल व्यवस्थापनमा गम्भीर नहुँदा डुबानको जोखिम बढेको हो।
पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका भित्रिनेछ। जस कारण उपत्यकाका खोला तथा नदीमा पानीको बहाव स्वतः बढ्ने जानकारहरु बताउँछन्। उपत्यकाको ढललाई व्यवस्थित पार्ने जिम्मेवारी खानेपानी तथा ढल निकास विभाग, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको हो।
तर, अहिले यी संस्थाको मेलम्चीको पानी कसरी काठमाडौंका धारामा झार्ने भन्ने मात्र छ। पानी आउँदा बढ्ने ढल व्यवस्थापनले महत्व पाएको छैन। यी संस्था मिलेर काठमाडौं उपत्यकाको १५ सय किलोमिटर सडकमा ढल व्यवस्थापन गर्नुपर्नेमा अहिलेसम्म तीन किलोमिटरमा मात्र काम भएको छ।