खोटाङमा स्थानीयहरूले साकेला नाचेर कोशी प्रदेश खारेज गरी किरात प्रदेश नामांकन गर्नुपर्ने माग

Everest Fuji News २०८० बैशाख २ मा प्रकाशित       Published at 2023 Apr 15


खोटाङको खोटेहाङ गाउँपालिकाको रोक्सिङ भन्ज्याङमा स्थानीयहरूले साकेला नाचेर कोशी प्रदेश खारेज गरी किरात प्रदेश नामांकन गर्नुपर्ने माग गरेका छन् ।

प्रदेश १ पुनःनामकरणका लागि संयुक्त संघर्ष समितिले आयोजना गरेको साकेला नाच मार्फत् उनीहरूले प्रदर्शनसमेत गरेका हुन् ।

उक्त कार्यक्रममा दक्षिणी क्षेत्रका करिब तीन हजार जना युवा तथा वयष्कहरू सहभागी थिए । प्रदेश १ पुनः नामकरणका लागि संयुक्त संघर्ष समिति प्रचार प्रसार उपसमितिका संयोजक इन्द्र नाराथुङेका अनुसार उनीहरूले सांस्कृतिक नाचसँगै राजनीतिक माग गरेका हुन् ।

साकेला नाच्ने क्रममा उनीहरूले बजाउने विभिन्न बाजामा ’कोशी प्रदेश मुर्दावाद’, ’किरात प्रदेश जिन्दावाद’ जस्ता नारा लेखिएका ब्यानर टासिएका थिए ।

किरात प्रदेश नभइन्जेलसम्म गाउँ–गाउँसम्म आन्दोलन चर्काउने पनि उनले बताए । कोसी प्रदेशको पक्षमा मतदान गर्ने प्रदेश सांसदहरुलाई लक्षित गरी गाउँ–गाउँमा सचेतना कार्यक्रम आयोजना सुरु गरिएको पनि नाराथुङेले बताए ।

प्रदेश स्थापनाको ६ वर्षपछि नामकरण भएको कोशी प्रदेशको विरोधमा पूर्वका विभिन्न जिल्लामा प्रदर्शन हुँदै आएका छन् । यसबीचमा कोशी नामकरणको विरोधमा ठूला आन्दोलन समेत भएका छन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.