काठमाडौं/
चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा १४ खर्ब रुपैयाँभन्दा बढी पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिबेदन अनुसार कुल वस्तु व्यापार घाटा ६ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड रुपैयाँभन्दा बढी पुगेको उल्लेख गरेको छ । कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सो आयातमा १ दशमलव ८ प्रतिशतले कमी आएको समेत बैंकले जनाएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७ दशमलव ६ प्रतिशत, १५ दशमलव ३ प्रतिशत र २९ दशमलव ५ प्रतिशतले वृद्धि भएको समेत बैंकले जनाएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको बताइएको छ । पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको समेत बैंकले जनाएको छ ।।