[arqam style= metro columns= 1 ]काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा÷विहारको संरक्षण, जीर्णाेद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि, २०७४ स्वीकृत गरेको छ ।
प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले भूकम्पबाट प्रभावित गुम्बा÷विहारको संरक्षण, जीर्णाेद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि, २०७४ स्वीकृत गरेसँगै २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका करिब एक हजार १०० गुम्बा तथा विहार पुनर्निर्माण गर्ने बाटो सहज भएको हो । कार्यविधि भूकम्पबाट प्रभावित सय वर्ष नपुगेका सार्वजनिक गुम्बाको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माण कार्यका लागि मात्र लागू हुनेछ । भूकम्पले करिब एक हजार ३०० गुम्बा तथा विहार क्षतिग्रस्त भए पनि एक हजार १०० गुम्बा÷विहार सय वर्ष नपुगेका छन् । सय वर्ष पुगेका सम्पदा पुनर्निर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार पुरातत्व विभागले पुनर्निर्माण गर्ने प्रावधान छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले यो कार्यविधि लागू भएसँगै भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निर्माण हुन नसकेका गुम्बा तथा विहारको पुनर्निर्माणले तीव्रता पाउने बताउनुभयो । “कार्यविधि नहुँदा गुम्बा तथा विहारको पुनर्निर्माण कसरी अघि बढाउने भन्ने अन्यौल थियो, अब सय वर्ष नपुगेका करिब एक हजार १०० सय गुम्बा÷विहार पुनर्निर्माण द्रुत गतिले अघि बढ्नेछ”, उहाँले भन्नुभयो । कार्यविधिअनुसार पुनर्निर्माण गर्दा जोखिमयुक्त गुम्बा÷विहारलाई पहिलो प्राथमिकता र अन्य गुम्बालाई क्रमशः क्षतिको स्तर वर्गीकरण गरी पुनर्निर्माण गर्नुपर्नेछ । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी काम सार्वजनिक खरिद कार्यविधि, २०७२ बमोजिम हुने प्राधिकरणले जनाएको छ । कार्यविधिले गुम्बा÷विहारको पुनर्निर्माण गर्दा लैङ्गिक, अपाङ्गता एवम् बालमैत्री हुनुपर्ने समेत व्यवस्था गरेको छ । रासस