ललितपुर, जेठ १४। नेपाल आदिवासी जनजाति महासंघ, इजरायलले म्यागासेसे पुरस्कार महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्रधान गरिएकाे छ ।
आविष्कार केन्द्रलाई रकम जुटाउन म्यागासेसे पुरस्कारलगायत पदक नै बिक्रीमा राखेका पुनलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को केन्द्रीय कार्यालय ललितपुर कुसुन्तीमा सो रकम आइतबार हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण समारोहमा अध्यक्ष जगतबहादुर बराम र नेफिन इजरायलका उपाध्यक्ष लक्ष्मी योञ्जन तामाङलगायत पदाधिकारीहरूले पुनलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोगका लागि धन्यवाद दिँदै आफूहरूले हुने खाने वर्गबाट भन्दा दुःख गरेर विदेशमा रहेकाहरू र श्रमजीवि निम्न वर्गबाट सहयोग बढी जुटेको कार्यक्रममा पुनले बताए, ‘बैंक, बित्तिय संस्था, उद्योगपति, ब्यापारीबाट अहिलेसम्म कुनै सहयोग आएको छैन ।’
‘पदक बेच्न थाल्यो भनेर दुःख नमान्नुहोस्,’ पुनले थप भने, ‘देशका लागि राम्रो काम गर्न सदुपयोग मात्रै गर्न खोजिएको हो ।’
आविष्कार केन्द्रको उद्धेश्य, योजना र महत्व सरकारले अहिले ग्रहण नगरे पनि १०÷१५ वर्ष पछि सरकार आफैले यो काम गर्ने विश्वास समेत पुनले व्यक्त गरे ।
इजरायलमा गत मे १३ मा २५६१औँ बुद्ध जयन्ति कार्यक्रममा उठेको रकम आविष्कार केन्द्रलाई हस्तारण गरिएको नेफिन इजरायलका उपाध्यक्ष लक्ष्मी तामाङले बताइन् । (नाम्सादिम)