
काठमाडौं । धूलो र धुँवाका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने काम धमाधम गरिरहेको छ ।
अघिल्लो सोमबारदेखि कामपाले महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात गरी सडक सफा गर्ने काम सुरु गरेको हो । सडक सफा गर्न 'जेटर स्प्रे' मेसिन प्रयोग गरिएको छ । मेलम्ची खानेपानीको पाइप बिछ्याउने कामले गर्दा पछिल्लो समय काठमाडौँमा अत्यधिक धुलो बढेकोले त्यसलाई नियन्त्रण गर्न कामपाले यस किसिमको अभियान सुरु गरेको कामपाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिए ।
हरेक राति ९ देखि १२ बजेसम्म काठमाडौँका मुख्य र कालोपत्र गरिएका सडक तथा किनारामा जमेर बसेको धुलो पखाल्ने काम हुनेगर्छ । धुलोका कारण नागरिकले अत्यन्तै सास्ती बेहोनु परेका कारण चौतर्फी दबाब आएकाले कामपाले यस्तो प्रयास गरी नागरिकलाई केही आभाष दिन तयार भएको हो ।
आइतबार राति भने कामपाले दमकल र जेटर स्प्रे प्रयोग गरेर बानेश्वरदेखि माइतीघर मण्डलासमम सडक सफा बनाएको छ । महानगरका कर्मचारीले लेटर मेसिन ६ र ट्यांकर ५ वटा प्रयोग गरेका थिए ।