
काठमाडौं । सरकारले चारजना सचिवको सरुवा गरेको छ । निर्वाचन आयोगको सहमतिमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरु दिनेश थपलिया, केदारबहादुर अधिकारी, सर्वजितप्रसाद महतो र सञ्जय शर्मालाई सरुवा गरेको हो ।
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव थपलियालाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको छ । थपलिया स्थानीय तहका अनुभवी प्रशासक हुन् ।
स्थानीय तहको व्यवस्थापनको कामलाई सहज र व्यवस्थित बनाउन थपलियालाई स्थानीय विकास पठाएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
यस्तै स्थानीय विकासका सचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । उनी पहिले पनि प्रधानमन्त्री कार्यालयका सचिव थिए । उनी अघिल्ला मन्त्री हितराज पाण्डेका पालामा स्थानीय विकासमा सरुवा भएका थिए । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।
उनीमाथि पुनर्निर्माणको काममा सीईओलाई असहयोग गरेको आरोप लाग्दै आएको थियो । राष्ट्रिय प्राधिकरणमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजीतप्रसाद महतोलाई लगिएको छ ।