अरुण नदी थुनिएपछि सप्तकोसी आसपासका क्षेत्रमा उच्च सतर्कता

Everest Fuji News २०७४ बैशाख ८ मा प्रकाशित       Published at 2017 Apr 21


धरानः संखुवासभाको भोटखोला गाउँपालिकास्थित स्याक्सिला गोलामा अरुण नदी थुनिएपछि सप्तकोसी आसपासका क्षेत्रको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ। स्याक्सीला गोलामा बरुण नदीमा आएको बाढी पहिरोले अरुण नदी थुनेपछि सुनसरी, सप्तरी र उदयपुर जिल्लामा पर्ने सप्तकोसी नदी आसवासका क्षेत्रमा स्थानीय प्रशासनले सुरक्षामा उच्च सतर्कता अपनाएको छ। अरुण नदी थुनिएर बनेको ताल फुटेपछि सप्तकोसीमा पानीको बहाव उच्च हुने भएकाले सप्तकोसी आसपासका बस्तीलाई क्षति गर्न सक्ने भन्दै स्थानीय प्रशासनले सप्तकोसी आसपासका क्षेत्रका वासिन्दालाई चनाखो भर्इँ सुरक्षित रहन अनुरोध गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताउनुभयो। अरुण नदी थुनिएर स्याक्सिला गोलामा करिव ३ किलोमिटर क्षेत्रफलमा तलाउ बनेपछि जुनसुकै बेला उक्त तलाउ फुटेर सप्तकोसी नदीमा पानीको बहाव उच्च हुने भएकाले सप्तकोसी ब्यारेजका सबै ढोका खुल्ला गर्न स्थानीय वासिन्दाले माग गरेका छन्। सुनसरीको बराहा गाउँपालकिाका दयाराम रेग्मीले अरुण नदी फुटेर आएको पानीले सप्तकोसी नदी आसपासका बस्तीलाई क्षति गर्ने भएकाले सप्तकोसी ब्यारेजका सबै ढोका खुल्ला गरी पानीको निकासलाई सहज बनाउन माग गरेका छन् । अरुण नदी थुनिएपछि गृह मन्त्रालयले सप्तकोसी आसपासका क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन सुनसरी प्रशासनलाई समेत निर्देशन दिएको छ। गृहको निर्देशन लगत्तै जिल्ला दैवी प्रकोप उद्धार समिति र जिल्ला सुरक्षा समिति सुनसरीको आकस्मिक बैठक बसेर सप्तकोसी नदीले क्षति गर्ने सम्भावित एरियामा व्यापक रुपमा प्रहरी परिचालन गरी उद्धार टोली समेत खटाइसकिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताउनु भयो। उहाँका अनुसार सप्तकोसी आसपासका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र नेपाली सेनाको टोली सप्तकोसी प्रभावित एरियामा परिचालन भइसकेका छन्। सुनसरी प्रशासनले सप्तकोसी प्रभावित सुनसरीको बराहानगरपालिकाको महेन्द्रनगर, प्रकाशपुर, मधुवन र कोसी गाउँपालिकाको हरिपुर, भण्टावारी, श्रीलंका टापु लगायतका क्षेत्रका वासिन्दालाई सचेत हुन अनुरोध गरेको छ। सुनसरी प्रशासनले तत्कालका लागि सप्तकोसीमा डुङ्गा सञ्चालन गर्न र माछा मार्न प्रतिबन्ध लगाएको प्रजिअ पराजुलीले बताउनुभयो। उहाँले सप्कोसी आसपासका क्षेमा गाइभैंसी चराउन र घाँस दाउरा काट्न तथा सर्वसाधारणलाई कोसी आसपासका क्षेत्रमा हिडडुल गर्न समेत रोक लगाएकोे छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.