Everest Fuji News२०७४ बैशाख २ मा प्रकाशितPublished at 2017 Apr 15
भक्तपुर । भक्तपुरको मध्यपुरथिमी क्षेत्रका बासिन्दाले शनिबार हर्षोल्लासका खटसहितको सिन्दूरजात्रा मनाएका छन् ।
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये २६ वटा खटसहितको सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो । थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहान ७ बजे अगाडि नै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ । थिमिमा २६ वटा खट सहभागी रथ बोकेर जात्रा परम्परागत रुपमा मनाएका छन् । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ । विगतमा ३२ वटा खट जात्रा हुने गरेपनि पछिल्लो केही वर्षदेखि नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराहीको खट बालकुमारीमा नल्याई आ–आफ्नै ठाउँमा जात्रा गर्ने भएपछि २६ खटको मात्रै जात्रा गरिएको हो ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरेजात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो । जात्रा हेर्नका लागि विभिन्न क्षेत्रबाट दर्शकको घुइँचो लाग्ने गर्दछ भने स्वदेशी तथा विदेशी पर्यटककोसमेत उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।