पूर्व नवयुवराज ह्रदयेन्द्र शाहको राजकीय शैलीमा व्रतबन्ध
Everest Fuji News२०७३ चैत्र १७ मा प्रकाशितPublished at 2017 Mar 30
पूर्व नवयुवराज ह्रदयेन्द्र शाहको व्रतबन्ध आज निर्मल निवासमा सम्पन्न भएको छ। निर्मल निवासमा निजी समारोह भएको हुनाले मिडियालाई अनुमति थिएन।
व्रतबन्धपछि परम्परा अनुसार ह्रदयेन्द्र हनुमानढोका दरबार नजिकै रहेको मरु गणेशस्थान (अशोक विनायक)मा पूजाका लागि पुगेका थिए। नारायणहिटी दरबारमा सर्नुअघि हनुमानढोका दरबारमा शाह वंशका राजाको निवास थियो।
ह्रदयेन्द्रलाई छाता ओढाएर मरु गणेशस्थान ल्याइएको थियो। राजतन्त्र समर्थकहरु त्यहाँ नेपालको राष्ट्रिय झण्डासहित उपस्थित भएका थिए। तर ह्रदयेन्द्रका हजुरबुबा पूर्व राजा ज्ञानेन्द्र, हजुरआमा पूर्व रानी कोमल, पिता पूर्व युवराज पारस र आमा पूर्व युवराज्ञी हिमानी त्यहाँ देखिएनन्।
व्रतबन्धको पार्टी पूर्व राजपरिवारले चैत २४ गते सोल्टी होटलमा आयोजना गर्दैछ। पार्टीमा राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरु लगायत विशिष्ट अतिथिलाई पनि निम्तो बाँडिएको छ।