Everest Fuji News२०७३ चैत्र ९ मा प्रकाशितPublished at 2017 Mar 22
निम्न मानव विकास भएको मुलुकबाट नेपाल मध्यम मानव विकास भएको मुलुकको सूचीमा पुगेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले हरेक वर्ष निकाल्ने मानव विकास प्रतिवेदनमा गत वर्षको तुलनामा एक स्थान माथि उक्लँदै नेपाल मध्यम मानव विकास भएका मुलुकको सूचीमा पुगेको हो ।
गत वर्षसम्म निम्न मानव विकास भएको मुलुकको सूचीमा रहेको नेपाल मध्यम मानव विकास भएको मुलुकमा उक्लनुलाई सकारात्मकरुपमा हेरिएको छ । मंगलबार स्वीडेनबाट विश्वव्यापी सार्वजनिक गरिएको सन् २०१६ को प्रतिवेदन अनुसार नेपाल १ सय ४४ औं स्थानमा रहेको छ । गत वर्ष नेपाल १ सय ४५ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रमध्ये नेपाल पाकिस्तान र अफगानिस्तान भन्दा मात्र माथि रहेको छ । गत वर्ष पनि नेपाल यी दुई मुलुकभन्दा मात्र अगाडि थियो ।
मध्यम मानव विकास भएका मुलुकमध्येमा सार्क सदस्यमध्ये नेपाल सहित भारत, भुटान, बंगलादेश र पाकिस्तान परेका छन् । अफगानिस्तान भने निम्न मानव विकास भएका मुलुकमा परेको छ । श्रीलंका र माल्दिभ्स भने उच्च मानव विकास भएका मुलुकमा परेका छन् ।
युएनडिपीले प्रतिव्यक्ति आय, स्वास्थ्य र शिक्षाका आधारमा मानव विकास प्रतिवेदन निकाल्दै आएको छ । स्वास्थको आधारकारुपमा औसत आयुलाई लिइन्छ । नेपालको मानव विकास सूचकहरु सकारात्मक हुँदै गएको भएपनि विभिन्न समूदायबीचको मानव विकास सूचकमा ठूलो खाडल रहेको प्रतिवेदनले औंल्याएको छ । यसैगरी सुगम क्षेत्र र दुर्गम क्षेत्रमा पनि मानव विकासको अवस्थामा ठूलो भिन्नता रहेको प्रतिवेदनले औंल्याएको छ ।
मंगलबार संसारभर एकसाथ सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नर्वे सबैभन्दा उच्च मानव विकास भएको मुलुकमा परेको छ भने सेन्ट्रल अफ्रिकन रिपब्लिक सबैभन्दा कमजोर मानव विकास सूचक भएको मुलुकमा परेको छ । सन् १९९४ देखि युएनडिपीले मानव विकास प्रतिवेदन निकाल्दै आएको हो ।
विश्वका सबैभन्दा शक्तिशाली र प्रतिव्यक्ति आम्दानी भएका मुलुक समेत मानव विकास प्रतिवेदनमा भने पछि पर्न सक्छन् । मानव विकास सूचकले मुलुकको आर्थिक अवस्था मात्र नभई त्यहाँका जनताको समग्र प्रगतिको अवस्था दर्शाउने हुँदा यसलाई महत्वपूर्ण सूचककारुपमा लिइन्छ ।