Everest Fuji News२०७३ चैत्र ८ मा प्रकाशितPublished at 2017 Mar 21
११ हजार रूख काट्न स्वीकृति
काठमाडौं । सरकारले पहिलोपटक पूर्व-पश्चिम रेलमार्गका लागि रुख काट्ने अनुमति दिएको छ । रेलमार्ग बनाउने योजनामा काम भइरहे पनि अहिलेसम्म रेलमार्ग बनाउन वन मन्त्रालयले स्वीकृति दिएको थिएन ।
रेल्वे ट्रयाक निर्माणका लागि लालबन्दी-बर्दिबास रेल्वे खण्डमा पर्ने ११ हजार १ सय भन्दा बढी रुख कटानका लागि रेल विभागले अनुमति पाएको छ । वनमन्त्रालयले मन्त्रिपरिषदमै लगेर यसको निर्णय गराएको हो ।
लालबन्दी-बर्दिबास खण्डको २५ किलोमिटर रेल्वे ट्रयाक निर्माणमा रहेका सबै अवरोध हटेका छन् । अहिले पनि वन क्षेत्रबाहेकका ठाउँमा विभिन्न संरचना निर्माणको लागि काम भइरहेको छ ।
झण्डै ७० करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च गरिएको छ भने ७० करोड रुपैयाँ बराबरको रकम रेलमार्ग निर्माणमा उपयोग हुँदैछ । कुल बजेटको २ अर्ब मध्ये बाँकी रकम अध्ययनमा लाग्नेछ ।
कति काटिँदैछन् रुख ?
विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले सागरनाथ वन परियोजनामा पर्ने ११ हजार १ सय २३ रुख कटान हुने बताए ।
त्यसमध्ये सबैभन्दा धेरै सालका रुख ५ हजार ७ सय छन् । ३ हजार २ सय मसला, ५ सय ९५ खयर र ४ सय ७७ साजका रुख पनि काटिने छन् । अरु थुप्रै प्रजातिका रुख पनि यो खण्डमा कटान हुनेछ ।
यो खण्डका लागि दुई वर्ष पहिले नै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तय भएको थियो । तर, रुख कटानको अनुमति नपाएका कारण यो खण्डमा तीब्र गतिमा काम हुन सकेको थिएन ।
‘अब यो खण्डमा काम गर्न हामीलाई निकै सहज हुनेछ, रुख काटेपछि काम अघि बढाउन कुनै अवरोधहरु हुने छैन,’ उपाध्यायले भने, ‘हामीले ब्यक्तिगत खेतको मुआब्जा पनि बाँडिसक्यौं ।’