नदी सफाइ गरी ३० मेट्रिकटन फोहर व्यवस्थापन

Everest Fuji News २०७३ चैत्र ५ मा प्रकाशित       Published at 2017 Mar 18


काठमाडौं । उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको २०१औं हप्तामा पशुपति, राममन्दिर क्षेत्रमा सफाइ गरी ८ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ८५० अभियानकर्मीको सहभागिता रहेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व अभियन्ताहरु नारायणकुमार श्रेष्ठ, अर्जुन धरेल, हेमराज कार्की र टंकराज आचार्यले संयुक्तरुपमा गरेका थिए । सफाइ महाअभियानलाई शनिबारै पशुपतिमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले पाँच हजारथान मास्क, पाँच हजारथान पन्जा, ५० जोर बूट र २० ओटा डोको हस्तान्तरण गरे । बैंकको मुख्य कार्यालय पोखरामा हुँदा पोखरा सफाइ अभियानलाई सहयोग गरेजस्तै कार्यालय काठमाडौंमा सरेपछि वाग्मती र यसका सहायक नदी सफाइमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । यसैको सिलसिलामा बैंकको कार्यालयनजिक रहेको इच्छुमती (टुकुचा) सफाइ अभियान शुक्रबारदेखि सुरु गरिएको छ । टुकुचा अपेक्षाकृत बढी फोहर रहेकाले यस वरपरका संस्थालाई संगठित गरी विशेष अभियान सुरु गर्ने तयारी भइरहेको बंैकका सन्चालकसमेत रहेका वाग्मती अभियन्ता नारायण श्रेष्ठले बताए । आजको सफाइ अभियानमा पूर्वसचिव डा. कृष्णचन्द्र पौडेलले सहभागीलाई शपथ खुवाएका थिए । वाग्मती सफाइ महाअभियानको २०२औं हप्तामा आगामी शनिबार थापाथली क्षेत्रमा सफाइ गरिने जानकारी पनि सो अवसरमा गराइएको छ । रुद्रमती सफाइको १६०औं हप्तामा बिजुलीबजार पुलमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । पूर्वसचिव किशोर थापा र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायतले सफाइको नेतृत्व गरेका थिए । सफाइमा ३५० व्यक्तिको सक्रिय सहभागिता थियो । विष्णुमती सफाइको १३२औं हप्तामा मनमैंजु, भत्केकोपुल क्षेत्रमा सफाइ गरी १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता विजेन्द्र लामाले जानकारी दिए । टोखा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा र तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा आजको सफाइ अभियान सन्चालन भएको थियो । सफाइमा ८०० अभियन्ताको सहभागिता थियो । तारकेश्वर नगरपालिकाको दियालो टोलमा शनिबार विशेष सफाइ गरिएको अभियन्ता लामाले जानकारी दिए । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १६२औं हप्तामा शनिबार रुद्रेश्वर वाटिकामा सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । गुह्येश्वरीमाथिको वाग्मती सफाइ एवं रेखदेखको जिम्मेवारी समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकालबारी टोल सुधार समितिलाई दिइएको छ । वि.सं. २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यो महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदीका साथै देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको छ । रासस


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.