विहारबाट ३४ जना नेपाली बालबालिकाको उद्धार

Everest Fuji News २०७३ चैत्र ५ मा प्रकाशित       Published at 2017 Mar 18


काठमाडौं । केन्द्रीय बालकल्याण समितिले विहारका विभिन्न स्थानबाट ३४ जना नेपाली बालबालिकाको उद्धार गरेको छ। विहार राज्यका विभिन्न बालगृहहरुमा रहेका ३४ जना बालबालिकालाई लिन बालकल्याण समितिको एक टोली त्यता गएको थियो। ३४ जना बालबालिकाको उद्धार गरेर टोली शनिबार विहान काठमाडौं आइपुगेको छ। उद्धार गरिएका बालबालिका ५ वर्षदेखि १७ वर्षसम्मका छन्। मुजफ्फरपुरमा रहेको निर्देश बालगृहबाट १७ जना बालक, सेवा संकल्प बालिका गृह मुजफ्फरपुरबाट २ जना बालिका र दरभंगा बालगृहबाट १४ जना बालकको समितिले उद्धार गरेको हो। सिराहा, जनकपुर,सर्लाही, सप्तरी, धनुषा, रौतहट, काठमाडौं, काभ्रे, बाँके, रुकुम, सिन्धुपाल्चोक, डोटी, महोत्तरी, दार्चुला, पर्सा, नवलपरासी, रुपन्देही, गुल्मी, कंचनपुर बाराका बालबालिकाको बालकल्याण समितिले उद्धार गरेको हो। घरबाट भागेर, कसैले बहकाउमा लागेर र काम गर्न गएकाहरुलाई विहारका विभिन्न गैरसरकारी संस्था र प्रहरी मिलेर उनीहरुलाई बालगृहमा लगेर राखेको थियो। ५ वर्षभन्दा बढी समयसम्म बालगृहमा बालबालिका बसेको जानकारी आएपछि उद्धारका लागि आफूहरु विहार गएको बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए। उद्धार गरिएका मध्ये १९ जना बालबालिकाको अभिभावक पत्ता लागेको छ। आवश्यक परामर्शपछि अभिभावक पत्ता लागेका बालबालिकाहरुलाई आफन्तको जिम्मा लगाइने र नलागेकाहरुलाई विभिन्न वालगृहमा राखिने बालकल्याण समितिले जनाएको छ।उद्धार गरिएका बालबालिकाहरुलाई आजदेखि गोदावरीस्थित छोराछोरी नेपाल नामक संस्थाले रेखदेख गर्ने भएको छ। उद्धार गरिएका बालबालिकामा सामान्य स्वास्थ्थ समस्यासमेत देखिएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.