विश्वमान चित्रमा तेस्रो शक्तिशाली राष्ट्र जापान धेरैको सपनाको देश बनेको हुन्छ । आगन्तुक भिसामा होस या विद्यार्थी भिसामा होस् या कामको भिसामा होस् यहीँ आफ्नो भबिष्य उज्जवल बनाउने सपना बोकी जसरी भएपनि जापान छिर्न लालायित हुने व्यक्तिहरू असंख्य छन्।
यस्तै आफ्नो सुनौलो भबिष्यका लागि सन् २००८ को अप्रिल महिनामा जापानको फूकोओकास्थित एसिया जापानिज एकडेमीमा आएकी सबिना महर्जन बिगत ३ बर्षदेखि सम्पर्क बिहिन भएकी छन् । सबिना फुकुओकाको मिनामी कुनोमामा रहेको ताकामिया स्टाइल भ्यु को ६०१ नम्बरको आफ्नै कोठाबाट सन् २००९ मा रहस्यमय तरिकाले सम्पर्क बिहिन भएको फूकोओकाका समाजसेवी तथा एसिया जापानिज एकडेमीमा कार्यरत धर्मराज अधिकारी नेपालजापान डट कमलाई जानकारी दिनुभयो । नेपालको पाटनमा स्थायी घर भएकी सबिना पाटनमै रहेको स्ट्यान्डर्ड जापानिज भाषा स्कुलबाट फूकोओका आएकी हुन्।
परिबारका साथ सबीना (रातो घेरामा)
सबिना महर्जन सम्पर्क बिहिन भए लगत्तै नेपाली दुताबास जापान, एनआरएन जापान र नेपाली बिद्यार्थी समाज जापान, पुलिस सबैलाई जानाकारी गराईएको थियो र अनुसन्धानका लागि सम्बन्धित सबैमा अनुरोध समेत गरिएको थियो । तर पनि जापान जस्तो बिकसित र तेस्रो शक्तिशाली मुलुकमा एउटी नेपाली महिलाको ३ बर्षदेखि खोजी गर्दा पनि केहि पत्ता नलाग्दा सबिनाको केस एकदम रहस्यमय बनेको छ ।
फुकुओकाका समाजसेवी तथा एसिया जापानिज एकडेमीमा कार्यरत धर्मराज अधिकारीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको र शंकास्पद लागेको ब्यक्तिहरुलाई पुलिसले सोधपुछ गरिरहेको जानाकारी दिनुभएको छ । उहाँका अनुसार सबिना सम्पर्क बिहिन भएपछि दुताबासले पनि आफ्नो आधिकारिक होमपेजमा सार्वजनिक सुचना जारी गरेको थियो । यसैगरी दुताबासले दिएको जानकारी अनुसार उक्त घटनाको अझै पनि निरन्तर अनुसन्धान भईरहेको र पुलिसले निरन्तर रुपमा आफुहरुले गरेको अनुसन्धानको बारेमा दुताबासलाई जानाकारी गराएको छ । तर पनि यतिका समय भईसक्दा कुनै अत्तोपत्तो नलाग्दा घटना झन रहस्यमय र जटिल बनेको छ ।
घटनाबारे के भन्छन् सबिनाका बुबा सानुलाल महर्जन
परिबारको सदस्य अझ भनौ कान्छी छोरी सबिना सम्पर्क बिहीन भएपछि खोजीको परिबार,प्रहरी र मीडियाको पहल लगायत बिषयमा हामीले सबिनाका बुवा सानुलाल महर्जनसंग उनको घरमै पुगेर नेपालजापान डट कमका कृष्ण अधिकारीले कुराकानी गरेका थियो :
▪ सबीना सम्पर्क बिहीन भएको सन्दर्भ बताईदिनुस न ?
उ यहाँको भाषा पढाउने स्कुलबाट भाषा पढेर जापान गएकी हो खासमा, के भने, बाबा म यहाँ राम्रोसंग काम पनि गरेकी छू ,पढ़दै पनि छू ,चिन्ता लिनू पर्दैन अब दीदीलाई पनि ल्याउनु पर्यो म एक्लै भए भन्ने कुरा गरेकी छोरी, अन्तिम बाक्य त्यहि बनाएर गई ………।
▪ कसरी थाहा पाउनु भो,बताउन मिल्छ ?
मिल्छ, सधै छोरीहरुको फेसबुक,ईमेल भैरहन्थ्यो, दुई तिन दिन सम्म केही खबर छैन, भनेर फोन गरेको पहिले उठेन, पछि फेरी गरेको जापानीज भाषामा बोल्यो ,मैले बुझेन, अनि स्कुल तिर फोन गरेको बुझ्दा खेरी छोरी छैन घरमा भन्ने खबर आयो ।
▪ तपाई जापान पनी जानू भो, छोरी बसेको ठाउँको अबस्था कस्तो पाउनु भयो ?
ए त्यहा त उसको सामान केही पनि थिएन, धर्मंजीहरुले पहिले बुझ्दा 5/6 दिनपछि साइकल बाटोमा भेटियो रे, म जादा खासै के हुनु। अँ, छोरीको बैंक खाताको पैसा पनि जत्तिको त्यत्ति छ। मैले दिएको 2000 डलर पनि जस्ताको त्यस्तै, काम गर्ने ठाउँमा पनि पैसा लिन बाँकी नै छ । फोन पनि बिचमा कहिले काहीं लाग्ने तर मान्छे नबोल्ने हुंदा मलाई कसैले बन्धक बनाएको छ की भन्ने शंका छ ।
▪
आज सम्म के-के प्रक्रिया अपनाउनु भो ?
खोज्नको लागी माधब कुमार नेपालको पालामा,रघुजी पन्तसहित भेटर मैले कुरा गरे। नेपाल प्रहरीसंग पनि सबै तिर जानकारी दिए। उता जापानबाट छोरी पढने एकेडेमीमा काम गर्ने धर्मराज अधिकारी लगायत सबै जना भएर त्यहाको प्रहरी, त्यो छोरी पढने ठाउँको मान्छेहरुलाइ सबैलाइ भेटेको, अनि एनआरएनहरुको संस्था, सामाजिक संस्थाहरु भबन भट्ट लगायत नेपालको बारेमा काम गर्ने मीडिया सबैलाई जानकारी गराएको, कसैले पनि हुदैन भन्दैनन, तर आजसम्म लाग्यो ..फेला परेको छैन ।
खासमा गणेस योञ्जन जो तत्कालीन नेपाली राजदूत हुनुहुन्थ्यो, उहालाई पनी हामीले भेटेको र मैले स्वयं कुरा गरेको ..।
▪ के भन्नु भो राजदुतले ?
हुन्छ म तुरुन्त गर्छु भन्नु भा हो। अहिले पहिलेको त राजदूत पनी फेरी सक्नु भयो पत्ता लाग्या हैन । झन, पछिको राजदूतलाई पनि मैले खबर गरेको धर्मजीहरुले पनि , केही अत्तोपत्तो छैन ।
▪ नेपालको परराष्ट्र मन्त्रालयलाई गुहार्नु भएन ?
नेपालको त मन्त्री सचिबलाई भेट्ने कुरा त परै जाओस, गेट भित्र छिर्न त मुस्किल छ, तैपनि समस्या बुझाए तर अहिले सम्म केही प्रगति छैन ।
▪
अन्तमा कसैलाई केही भन्नु छ की ?
सबै नेपालीको अभिभावकको रुपमा रहेको दूतावासले केहि समय पहिले आफ्नो आधिकारिक होमपेजमा सार्वजनिक सूचना जारी गरेर झारा टार्ने काम मात्र गरेको छ र सामाजिक संस्थाहरुले अपेक्षा गरे जति छोरी खोज्नेतिर गम्भिर नदिखएको हो भन्ने मेरो बुझाई हो । मेरी छोरी त हराई तर एउटा नेपालको नागरिक पनि त हरायो भन्ने हिसाबले राज्यले खोज्न सार्थक पहल गरोस, र तपाईहरु जस्ता मिडियाले पनि अझ प्रशासनलाई झकझक्याउने काम गरी दिनुभयो भने पक्कै पनी छोरी फर्केर आउँछिन । (नेपालजापान डट कम)