बाकसमा थुनिएका देबतालाई मन्दिरबाट निकाल्ने १२ वर्षे ल्हफेब पर्व मनाइँदै

Everest Fuji News २०७३ पुष २० मा प्रकाशित       Published at 2017 Jan 04


(धु्रबसागर शर्मा) हिमालपारीको जिल्ला मुस्ताङमा बसोबास गर्ने थकाली जातीले, थकाली जाती र मानव कल्याणका लागि बाकसमा थुनिएका देवतालाई मन्दिरबाट निकाल्दै १२ वर्षे ल्हफेब पर्व मनाइरहेका छन् । थकाली जातीअन्तर्गत पर्ने गौचन, तुलाचन, शेरचन र भट्टचनले देवतालाई १२ वर्षमा मन्दिरबाट बाहिर निकाली पुजा गर्नु नै यो पर्वको मुख्य विशेषता हो । यो पर्व पञ्चतत्वसँगसमेत सम्बन्धित रहेको स्थानीय पूर्णप्रसाद तुलाचनले बताउनुभयो । मुस्ताङको कोवाङ गाविसअन्तर्गत नाउरीकोट, नाकुङ, लार्जुङ, कोवाङ, खन्ती, सउरु र भुजुङकोटका थकाली समुदायले यो पर्व धुमधामका साथ मनाइरहेका छन् । img_4429 पुस १६ गतेबाट सुरु भएको यो पर्व माघ ३ गतेसम्म संचालन हुने र १६ दिनसम्म नियमित रुपमा पुजाआजा गरिने थाक संरक्षक हेमन्त गौचन बताउनुहुन्छ । चार जातीका थकालीहरुले विशेष महत्वका साथ मनाउने यो पर्वमा यी चार जातीका रंग र देवतासमेत छुट्टाछुट्टै छन् । गौचनको रातो, तुलाचनको हरियो, शेरचनको सेतो र भट्टचनको कालो रंग मानिन्छ । चार जातका देवताका मन्दिरसमेत छुट्टाछुट्टै छन् । मन्दिरमा देवता भने बाकसभित्र राखिएको छ । देवतालाई नहेरे पनि पूजा भने नित्य गर्ने चलन छ । आफ्नो संस्कृतिअनुसार चार जना मूल पूजारीले छुट्टाछुट्टै पूजा गर्ने, हरेक देवताको तिथि र मिति अनुसार छुट्टाछुट्टै समयमा निकाल्नुपर्ने भएकाले यी देवताको पूजा गर्ने बिधि पनि छुट्टै छ । थकाली मध्येबाट छानिने पाडेहरुले मात्र यो पूजा गर्ने गर्दछन् । पाडेहरुलाई पूजामा सहयोग गर्न चार जना कुमार केटा हुन्छन् । पूजा गर्ने क्रममा देवतालाई लिन मरस्र्याङ क्यु जानुपर्ने हुन्छ । त्यहाँ जाँदा बिधिअनुसार पाठ गरेर देवताको रंगअनुसारको लुगा लगाएर क्रम अनुसार हिँडेर जाने चलन छ । हिड्दा परम्परादेखि जुन ठाउँबाट हिँड्यो त्यही ठाउँबाट हिँड्ने चलन छ । गुफामा पुगेपछि मुख्यकर्ताहरुले हिमालबाट आएको चोखो पानीमा नुहाउनुपर्छ । ताप्नलाई आगो बाल्दा समेत चार जना देवताका कर्ताहरुले छुट्टाछुट्टै बाल्ने चलन छ । सो क्रममा पूजा गरेर नफर्केसम्म भट्टचनको भूमिका भने महत्वपूर्ण हुन्छ । फर्केर आएपछि स्थानीय महिलाले स्वागत गर्छन् ।चार जातीले छुट्टाछुट्टै आफ्नो संस्कृति अनुसार पूजाबाट फर्केकाहरुलाई पूजा गर्ने चलन छ । लार्जुङमा पुगेर बिधि अनुसार भट्टचनको कर्ताले देवतालाई जगाएपछि चार वटा देवतालाई खोलामा लगेर राखिन्छ । त्यसैको तीन दिनपछि मात्र रथ यात्रा शुरु गर्ने चलन छ ।सो क्रममा पूजारीले नुन बाँड्ने चलनसमेत छ । नून पाउनेको घरमा दुःख नपर्ने विश्वास यो समुदायमा छ यो पर्वलाई आकर्षित बनाउन कविता प्रतियोगिता, म्याराथन दौड, अन्तरचन ताराखेल, सुन्दरी प्रतियोगिता, स्वास्थ्य शिविरलगायतका कार्यक्रमसमेत राखिएका छन् । बिभिन्न कार्यक्रम रहे पनि यस्ता मनोरञ्जनात्मक कार्यक्रम सात गाउँभन्दा अन्यत्र गर्नुपर्ने हुन्छ । थकाली जातीको ऐतिहासिक यो पर्व हेर्न मुस्ताङमा अहिले पर्यटक पुगिरहेका छन् । तस्बिर सौजन्य : राजु गौचन फेसबुक, (news source: Myagdikali.com)
img_4430 img_4431 img_4432


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.