काठमाडौं । ‘नमस्कार सर ! म हर्कमाया विश्वकर्मा । घर झापा, बिर्तामोड ।’ कलेटी परेको ओठ लिएर हर्कमाया त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा याचना गर्दै थिइन्, ‘मेरो पति खड्गबहादुर विश्वकर्मा ०६१ भदौ १६ मा साउदीमा बिते, १२ वर्ष भयो अहिलेसम्म क्षतिपूर्ति पाइनँ हजुर ! विभागका महानिर्देशक उनलाई विशेष ध्यान दिइरहेका थिए । हर्कमाया निन्याउरो अनुहार लिएर अनुनय–विनय गरि नै रहेकी थिइन् । साउदीको कमर अलि बलस्रफ कम्पनीमा हेभी ड्राइभरका रूपमा कार्यरत थिए खड्गबहादुर । सामान्य पढाइ भएका विश्वकर्मा आफ्नो परिवारलाई केही सुख दिन र मीठो मसिनो दुई छाक व्यवस्था गर्न साउदी पसेका थिए । समय–समयमा श्रीमतीलाई भन्थे– कमाइ पनि राम्रै हुँदैछ । तर, एक्कासि मृत्युको खबर आयो । “नियमित पैसा पठाउँथे । त्यसैले परिवारको गर्जो टरेको थियो,” पत्नीले दुःखेसो पोखिन्, “तर, एक दिन बज्रपात आइलाग्यो । ‘ड्युटी आवर’मै सडक दुर्घटनामा परेछन् । जोगाउन खोज्दाखोज्दै दुई जना साउदीकै नागरिक चढेको गाडीसँग ठोक्किएछ । उनीहरूको मृत्यु भएछ । ट्रलीमा ठोक्किएपछि उहाँको पनि मृत्यु भयो ।” हर्कमायाका अनुसार उताबाटै आएको रिपोर्टले पनि खड्गबहादुरको कुनै गल्ती नभएको देखाएको छ । तर, अहिलेसम्म कम्पनीले क्षतिपूर्ति दिएन । खड्गबहादुरको मृत्यु भएको दुई महिनामा शव नेपाल आएको थियो । त्यसपछि नेपाल सरकारले बिमाबापत दिने एक लाख रुपैयाँ उनका आफन्तले पाए । तर, ड्युटी टाइममै मृत्यु भएका उनलाई कम्पनीले क्षतिपूर्ति दिन अझै आलटाल गरिरहेको छ । हर्कमायाको कुरा सुनेपछि हालै कन्सुलर विभागको जिम्मेवारी सम्हालेका महानिर्देशक तथा सहसचिव गेहेन्द्र राजभण्डारीले साउदीस्थित नेपाली दूतावासमा फोन गरे । दूतावास उनको घटनाबारे जानकार रहेको र क्षतिपूर्तिका लागि पहल गरिहेरको जवाफ दियो । बाह्रखरीसँग महानिर्देशकले भने, “साउदीमा अलि धेरै समस्या छ । त्यहाँको कानुनी प्रकृयासमेत झन्झटिलो छ । उहाँको समस्या पुरानो रहेछ । छिट्टै समाधान गर्ने कोसिस हुन्छ ।’ रुपन्देहीका अम्बरबहादुर बुढाथोकीको पनि हालै साउदीको एक कन्सट्रक्सन कम्पनीमा काम गर्दैगर्दा हाइड्रोलिक कारले थिचेर मृत्यु भयो । त्यसपछि बिहीबार उनका आफन्त विभागमा उजुरी गर्न आए । नौ महिनादेखि उक्त कम्पनीमा काम गर्दै आएका बुढाथोकीका आफन्तले विभागमा आएर क्षतिपूर्ति र शव नेपाल ल्याउनका लागि निवेदन दिएका छन् । उनीहरूको उजुरी तुरुन्तै साउदीस्थित नेपाली दूतावासमा फर्वाड गरिएको महानिर्देशक राजभण्डारीले जानकारी दिए । विभागले आधा घण्टाभित्रै पीडितको उजुरी वा गुनासो सम्बन्धित ठाउँमा पु¥याउन थालेको उनले बताए । “पहिले के हुन्थ्यो थाहा छैन । अहिले हामी तुरुन्तै काम गर्ने प्रयासमा छौं । दैनिक रूपमै निकै दुखद् घटना हुन्छन्,” उनले भने, “काम र पढाइको सिलसिलामा नेपाली विश्वभर पुगिसकेका छन् । नयाँ पुराना समस्या हजारौं छन् ।” पछिल्लो तीन हप्ताको तथ्यांक हेर्दा मृत्यु, उद्धार तथा क्षतिपूर्तिको माग गर्दै ९० निवेदन परेका छन् । विभागका अनुसार तीन हप्तामा मृत्युका १६, उद्धारका ४३, क्षतिपूर्तिका ९ र अन्य २२ निवेदन छन् । जसमा साउदीमा मात्रै मृत्युको ९ र उद्धारका ३० उजुरी दर्ता भएको छ । त्यसपछि मलेसिया, कतार, संयुक्त अरब इमिरेट्सलगायत देशका छन् । विभागमा पुराना घटना र उजुरी ‘फलो अप’ गर्नेको संख्या सयौं छ । कन्सुलर विभागले विदेशमा मृत्यु भएका, जेलमा परेका, कम्पनीले दुःख दिएका, एक ठाउँमा काम गर्दागर्दै भागेर गैरकानुनी रूपमा बसेकालाई उद्धार तथा क्षतिपूर्ति उपलब्ध गराउन पीडित, सम्बधित देशमा रहेको नेपाल दूतावास र कम्पनीसँग समेत समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । महानिर्देशक राजभण्डारीले कानुनअनुसार बसेर काम गर्दै गरेका समस्यामा पर्दा उद्धार तथा सहयोग गर्न सजिलो हुने तर, काम परिवर्तन गर्ने, कम्पनी छोडेर भाग्ने र गैरकानुनी काम गर्नेलाई उद्धार गर्न गाह्रो हुने बताए । तर, समस्या गैरकानुनी रूपमै बसेकाको धेरै छ । श्रम तथा रोजगार विभागका अनुसार २०१४/०१५ मा मात्रै ४ लाख ९९ हजार ६ सय २० ले विदेशमा काम गर्न जानका लागि श्रम अनुमति लिएका छन् । जसमध्ये मलेसियाका लागि सबैभन्दा धेरै ३३ प्रतिशत, कतार १९ प्रतिशत, साउदी अरब १८.९९ प्रतिशत, कुवेत १३.२२ प्रतिशत र युएईमा ९.८२ प्रतिशतले अनुमति लिएका छन् । तर, उजुरीका घटनामा साउदी अरब अगाडि देखिएको छ । कागजपत्रमा छाप लगाउन दैनिक ८ सयभन्दा बढी विभाग पुग्छन् । अहिले अधिकांश देशमा रोजगारी तथा अध्ययनका लागि विदेश जानेले आफ्नो सबै कागजपत्रमा कन्सुलर विभागको छाप लगाउनुपर्छ । सरकारी तथ्यांकअनुसार दैनिक लगभग १५ सय युवा रोजगारी तथा अध्ययनको सिलसिलामा विदेश गइरहेका छन् । “अहिले कागजपत्रमा छाप लगाउनेको दैनिक भीड लाग्छ । यसलाई व्यवस्थित गर्न र आधा घण्टामै काम सेवा दिन हामीले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्दै आएका छौं,” महानिर्देशक राजभण्डारीले भने, “सेवाग्राहीलाई कसरी छिटो सेवा दिने भन्नेमा मेरो ध्यान केन्द्रित छ । एक–एक घण्टामा सेवाग्राहीको समस्याबारे अनुगमन गर्न कार्यकक्षबाट बाहिर निस्कने गरेको छु ।” विभागले सरकारी कामको लागि विदेश जाने, सभासद्हरूको भिसा प्रक्रिया, नेपालस्थित विदेशी नियोग तथा प्रोजेक्टको भिसा, सामान खरिदलगायत काम पनि गर्दै आएको छ ।( १२खरी)