हजारौं सपनाहरु बोकेर विदेश पसेको व्यक्ती आकस्मिक रुपमा मृत्यु भएका घटनाहरु हामिले धेरै भेट्ने गरेका छौँ । आफ्नो मान्छे गुमाउनुपर्दा परिवार र आफन्तमा सबैभन्दा पिडा महसुस भएको हुन्छ । कामको लोड धेरै परेको अथवा मानसिक तनाब धेरै भोग्नुपर्दा मानिसमा डिप्रेसन हुन गइ धेरै समस्याहरु उत्पन्न भई व्यक्तिको मृत्युसम्म हुने गरेका छन । यस्तै एउटा घटना हो दिपक केसिको । रोजगारिको सिलसिलामा स्याङ्ग्जा अर्जुनचौपारिबाट जापान आएको १० महिनामै ज्यान गुमाएका दिपक केसी कुक भिसामा काम गर्थे । बेलुका सामान्य खाना खाएर सुतेको व्यक्तिलाई विहान आफ्नो साथिले उठाउन खोज्दा नउठेपछी तत्काल एम्बुलेन्सलाई खबर गरी अस्पताल पुर्याइएको थियो । दिउसोको १२ बजेर ५३ मिनटमा अस्पतालले मृत्यु घोषणा गरेपछी स्याङ्ग्जा समाज जापानले जापानबासी नेपालिहरुको माझमा सहयोगको निम्ती अपिल गरेपश्चात केहि रकम उठ्न सफल भयो । परिवारसङ्गको आग्रहपछी लासलाई जापानमै जलाउने भन्ने निर्णयपश्चात दाहसस्कार गरेर बाँकी रहेको रु ८ लाख ९० हजार बराबरको रकम जापानबाट नेपाल पठाइएको छ । घरमा आमा र बहिनिमात्र रहेको र आर्थिक अवस्था कमजोर भन्ने खबर थाहा पाएपछी सबैले सहयोग गरेका थिए ।
जम्मा भएको कुल १० लाख ११ हजार ६ सय ३३ यन मध्य दाहसंस्कारमा खर्च भएको ७० हजार यनबाट बाँकी रहेको ९ लाख ९१ हजार ६ सय ३३ यन ( रु ८ लाख ९० हजार ३२) लाई जेएमइ मार्फत पठाइएको कोषाध्यक्ष सुरेश रेग्मिले बताउनुभयो ।
नेपाल पठाइएको उक्त रकमलाई यही डिसेम्बर ७ तारिकका दिन स्याङ्ग्जाका समाजसेवि, प्रशासन, राजनैतिक दलका प्रतीनिधि, पत्रकार, उपाध्यक्ष सागरमणी भण्डारी लगाएतको उपस्थितिमा चेक हस्तान्तरण गरिने भएको छ । मुक्तीनाथ विकास बैंकको ५ वर्षे मुद्धति खातामा पैसा जम्मा गरिने र अत्यन्तै अप्ठ्यारो परिस्थीतिमा सहयोग गर्ने दाताहरुलाई अध्यक्ष जिवन न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
जापानमा आकस्मिक रुपमा मृत्यु भएका नेपालिहरुलाई यहाँका विभिन्न सङ्घसंस्थाहरुले पहल गरेर तत्काल उद्धारको निम्ती प्रयास गरेतापनी नेपाली राजदुताबास जापान भने त्यती सकृय बनेको पाइदैन । नेपालबाहेक अन्य देशका नागरिकको मृत्युको खण्डमा भने पहिलो प्रयास उक्त देशको राजदुताबासले लिने गरेको छ ।