आश्विन ३०, २०७३- गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवार साइनोमा जोडिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उनीहरूको इंगेज्मेन्ट (टीकाटालो) भएको छ ।
अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग २ वर्षदेखि नै चलेको थियो । अध्ययनलगायत कारणले सरेको थियो । यही माघमा विवाह गर्ने तयारीमा दुवै परिवार रहेको यादवको पारिवारिक स्रोतले कान्तिपुरलाई बतायो । टीकाटालो कार्यक्रम गोप्य राखिएको थियो । दुई राजनीतिक पृष्ठभूमिको परिवारबीचको कार्यक्रम भए पनि समारोहमा दलका कार्यकर्ताको उपस्थिति थिएन । एमाले अध्यक्ष केपी ओली भने पत्नी राधिकासहित शीतल निवास पुगेका थिए ।
‘पारिवारिक कार्यक्रम भएकाले हल्लाखल्ला गर्नुपर्ने कारण भएन । धेरैलाई बोलाएका पनि थिएनौं,’ अभिषेकका पिता मुनिलाल यादवले भने । २९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् । उतिबेलादेखि प्रेममा रहेका दुवैको परिवारिक सहमतिमा विवाह हुन लागेको हो । इन्जिनियरिङ पढेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट समेत उच्च शिक्षा लिएका छन् । निशाकुसुमले भने नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् । ‘ज्योतिषीबाट हेराई विवाहको दिन तय गर्ने भनिएको छ’, शीतल निवास स्रोतले बतायो ।
कार्यक्रम नेपाली सेनाको टुकडीले मंगलधुन बजाई सुरु गरिएको थियो । मंगलधुनपछि ५ जना पण्डितले स्वस्ति पाठ गरेका थिए । राष्ट्रपति भण्डारीले अभिषेक र निशाकुसुम दुवैलाई टीका र माला पहिर्याएकी थिइन् । कार्यक्रममा पूर्वराष्ट्रपति यादव भने उपचारका लागि अमेरिकामा रहेकाले सहभागी भएनन् । एमालेका तत्कालीन महासचिव दिवंगत मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् । जेठी छोरी उषाकिरणको विवाह भइसकेको छ ।
source: ekantipur.com