टोकियो।
कुक भिषामा जापानको टोकियो पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । स्याङ्ग्जा अर्जुनचौपार–९ केवरे लिडि घर भई हाल कामको लागि जापान पुगेका दिपक केसीको आकस्मिक मृत्यु भएको हो ।
केसी कुक भिषामा १० महिना पहिले जापान गएका थिए । उनी टोकियोको सेतागाया कु गोतोजिमा बस्दै आएका थिए ।
हिजो शुक्रबार राती सामान्य अवस्थामा सुतेका केसी आज शनिबार विहान ४ बजे पिसाब फेरेर कोठामा फर्किएका थिए । तर त्यसपछि उनी नउठेपछि एम्बुलेन्सलाई खबर गरी हस्पिटल भर्ना गरिएको थियो ।
केसी यसै वर्ष दशैमा घर आउने र विहे गर्ने तयारीमा थिए । यस मृत्युको खबर बारे दिपकले काम गर्ने रेस्टुरेण्टका मालिक तथा उनकै साथी सुक बहादुर केसीले जानकारी गराएका छन ।
मुटुको समस्याले रक्तसञ्चार प्रकृया रोकिएर मृत्यु भएको टोकियो मेडिकल सेन्टरका डा. किमुराले जानकारी दिए ।
जापानी समय अनुसार विहान १२ बजेर ५८ मिनेटमा दिपकलाई अस्पतालाले मृत घोषणा गरेको छ । हस्पिटलमा एनआरएनए जापानका उपाध्यक्ष देविलाल भण्डारी, स्याङ्ग्जा समाजका उपाध्यक्ष सागरमणी भण्डारी, मुक्ती सुबेदि, सुरेश रेग्मी, सुक बहादुर केसि, गुप्त बहादुर खत्री, रबिन केसी उपस्थित भएका थिए ।
टोकियोको गोतोकुजीको केसी रेस्टुरेण्टमा काम गर्दै आएका दीपक केसीको पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेको र जापान आएको ऋणसमेत नतिरेकोले सहयोगको लागि आग्रह गरिएको छ । जापानवासी नेपालीहरुलाई सहयोगको लागि स्याङ्ग्जा समाज जापानको जेपी बैंकको खाता १०११०-६२२८६८९१ セン ザ サマーズ ジャパン (०८०-३३६७-२५४७) मा जम्मा गर्न अनुरोध गरिएको छ ।
- (नेपालजापान डटकम)