काठमाडौं, असोज १४ । पूर्वमन्त्री माधवप्रसाद घिमिरे सवार जिप भेटिने सम्भावना कमजोर हुँदै गएको छ । गत आइतबार पृथ्वीराजमार्ग अन्तर्गत चितवनको घोप्टेभिरबाट घिमिरेको जिप त्रिशुली नदीमा खसेको थियो । लगातार प्रयास गर्दा पनि जिप भेटिएको छैन तर पनि खोजीमा संलग्न टोलीले हार मानेको छैन ।
पूर्वमन्त्री माधबप्रसाद घिमिरे सवार जिप त्रिशुलीमा बेपत्ता भएको आउदो आइतबार सात दिन पूरा हुँदैन । जिप खोज्न नेपाली सेना, सशस्त्र प्रहरीको टोली अनवरत खटिएको छ । तर त्रिशुली नदी उर्लदो स्वरुपमा बगि नै रहेको छ ।
नेपाली सेना र सशस्त्र प्रहरीले नदीमा दुईवटा डुंगा परिचालन गरेर खोजिरहेको छ । नदीको पिँधसम्म पुग्ने गरी हुक झार्ने र केही वस्तु भेटिएमा तान्ने गरिएको छ । अहिलेसम्म धेरैपटक हुँक विभिन्न वस्तुमा अड्किए पनि घिमिरे सवार जिप फेला पर्न सकेको छैन । खोजिका लागि विभिन्न उपाय अपनाउन नछाडिएको नेपाली सेनाका क्याप्टेन भरतबहादुर बुढाथोकीले जानकारी दिए ।
जिप खोज्न खोजी दलले हुक फाल्ने बाहेक पनि विधि अपनाइएको छ । नदीको सतहमा चुम्बक फाल्ने, नदीमा क्यामेरा डुबाएर खोज्ने र गोताखोरलाई पनि पानीमा पठाउने गरिएको छ ।
पानी धमिलो र नदीको बेग उच्च भएका कारण क्यामेरा र गोताखोर प्रभावकारी हुन सकेको छैन । हुकमा अहिलेसम्म बेपत्ता जिप अड्किएकै छैन । ढुंगा लगायत वस्तुमा हुक अड्किँदा तारको लठ्ठा चूँडिएर खोजी प्रभावित भइरहेको छ ।
नारायणी नदी छेउ, मुग्लिङ र घटनास्थलदेखि केही तल पनि सेनाको टोलीले बेपत्ताहरुको शब भेट्ने आशामा निगरानी गरिरहेको छ । अध्यारोमा पनि बत्ति बालेर नदीमा निगरानी गर्न छाडिएको छैन ।
दुर्घटनाका क्रममा जिपमा एअर ब्याग फुटेर शरिर च्यापिएको हुन सक्ने अुनमान गरिएको छ । जसका कारण शब पानीको सतहमा आउन सकेको छैन ।
सामान्यत पानीमा डुबको व्यक्तिको शव तीन दिनमा पानीमा तैरिने गर्दछ । तर पूर्वमन्त्री घिमिरे र उनका दुई भाइको शवसमेत अझै फेला पर्न सकेको छैन ।
यसबीच घिमिरेसहित उनका दुई भाइको कुशको शव बनाएर शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
गत आइतबार अपरान्ह पृथ्वी राजमार्गको दारेचोक–३ स्थित घोप्टेभिरबाट गाडी खसेर बेपत्ता भएका घिमिरेसहित भाइहरु मोहन र प्रकाशको खोजी गर्दा पनि नभेटिएपछि कुशको शव बनाएर अन्त्यष्टी गरिएको हो । घिमिरेलाई अन्तिम् श्रद्धाञ्जली दिन गृहमन्त्री बिमलेन्द्र निधिलगायतका अधिकारीहरु आर्यघाट पुगेका थिए ।
सात जना सवार बा९च १५३१ नम्बरको गाडी गत आइतबार अपरान्ह त्रिशुलीमा खस्दा तीन जनाको ३ को मृत्यु, ३ बेपत्ता र एकको जीउँदै उद्दार गरिएको थियो । घिमिरेकी आमा चैतन्या, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो भने गाडीका चालक विष्णु राईको जीवितै उद्दार गरिएको र उपचार गराइरहेका छन् । घिमिरेका एक छोरा र एक छोरी रहेका छन् ।