भदौ-२६ ,काठमाण्डौं ।
नेपाल तामाङ समाज जापानले अध्ययनका लागि जापान पुगी टोकियोमा एक महिना अिघ मृत्यु भएको स्व. रमेश तामाङको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
समाजले हिजो शनिवार काठमाडौं स्थित नेपाल तामाङ घेदुङ, केन्द्रिय कार्यालयको सभाहलमा एक समारोहको आयोजना गरी सङ्कलन भएको रकम हस्तान्तरण गरेको हो ।
समारोहमा प्रमुख अतिथि कृषि विकास राज्यमन्त्री राधिका तामाङले समाजको तर्फबाट पीडित परिवारलाई चेक हस्तान्तरण गरेका थिए । जापानबाट प्राप्त २७ लाख, १२ हजार २३ जापानी येन ९२५ हजार ९ सय ५७ डलर बराबरको चेक मृतक रमेशकी आमा देवीमाया पाख्रीनलाई प्रदान गरिएको थियो ।
करिब दुई वर्ष अघि अध्ययनका लागि जापान गएका रमेशको गत साउन ३१ गते उपचारको क्रममा अस्पतालमै निधन भएको थियो । नेपाल तामाङ समाज जापान लगायत नेपालीहरूको पहलमा उनको शव भदौ ८ गते नेपाल पठाइएको थियो ।
अस्पतालमा रहेको उनको शवलाई नेपाल पठाउन आर्थिक सहयोगका लागि तामाङ समाज जापानले जापानमा रहेका नेपालीहरूलाई आह्वान गरेको थियो ।
सोही क्रममा करिब ३६ लाख जापानी येन सङ्कलन भएको त्यसबाट शव नेपाल पठाउँदा करिब ९ लाख येन खर्च भएकोले बाँकी रकम सहयोग स्वरुप परिवारलाई प्रदान गर्ने निर्णय भएको नेपाल आइपुगेका समाजका अध्यक्ष कर्म वाङ्गेल लामाले जानकारी दिए । अध्यक्ष लामाले दुःखको बेला मानवीय भावनाले सहयोग गर्ने उद्देश्यले पहल गरिएको र यसका लागि आर्थिक सहयोग प्रदान गर्ने जापानका सबै नेपालीहरूलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा राज्यमन्त्री राधिका तामाङले स्वदेशमा शिक्षा र रोजगारीको वातावरण नभएकोले बाध्यताले विदेशिनु पर्दा यस खालको दुःखद् घटना भएको बताइन् । उनले स्वदेशमै रहन सक्ने खालको वातावरण बनाउन सबैको योगदान हुनुपर्ने बताइन् । यसैगरी उच्च शिक्षा हासिल गर्ने सपना अधुरो रहेकोले रमेश तामाङको नाममा उनले अध्ययन गरेको विद्यालयमा अक्षयकोष खडा गरी उनीप्रति सम्मान व्यक्त गर्नुपर्ने राज्यमन्त्री तामाङको सुझाव थियो ।
रकम हस्तान्तरण समारोहमा अन्तर्राष्ट्रिय तामाङ परिषद्का सचिव प्रतीक ङेसुर तामाङ र नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले रमेश तामाङको परिवारलाई सहयोग गरेकोमा तामाङ समाज जापानको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
यसैगरी मृतक रमेशका दाजु राजु तामाङले घटनाको विस्तृत जानकारी दिँदै शव नेपाल पठाउन विशेष सहयोग पु¥याएकोमा तामाङ समाज जापान र त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूप्रति परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे । उनले समाजलाई परिवार तथा आफन्तजनको तर्फबाट ‘धन्यवाद पत्र’ समेत प्रदान गरे ।