चितवन समाज जापानले ’’ सबैका लागी शिक्षा र स्वास्थ्य चितवन समाज जापानको उद्देश्य ’’ भन्ने नाराका साथ गत मे महिनामा जापानको विभिन्न स्थानमा सम्पन्न गरेको “चितवन धमाका २०१६” कार्यक्रमको आर्थिक आय–ब्यय सार्वजनिक गरेको छ । समाजले गत हप्ता सम्पन्न भेलामा उक्त्त कार्यक्रमको हरहिसाब सार्वजनिक गरेको हो । समाजले उक्त कार्यक्रमबाट ५७२ मान ३ हजार ४ सय ३७ जापानी येनको कारोवार गर्न सफल भएको जनाएको छ । जुन टिकट बिक्री, प्रायोजक, तथा सहयोगदाताबाट प्राप्त भएको हो । जसमध्य २ सय ९८ मान ४ हजार ८ सय ११ येन खर्च कटाएर २७३ मान ८ हजार ६ सय २६ संस्थालाई आम्दानी भएको संस्थाका कोषाध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो ।
समाजले यस वर्षको गोल्डेन विकमा टोकियो,नागोया,ओसाकासहित जापानका ३ क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको थियो । जसमा हरेक क्षेत्रको हिसाब स्पष्ट पार्दै नागोयामा सम्पन्न कार्यक्रमको आम्दानी ७२ मान ९ हजार, खर्च ४२ मान १ हजार १ सय ३१, टोकियोमा सम्पन्न कार्यक्रमको आम्दानी ३१६ मान ८ हजार १ सय ६०, खर्च १८५ मान ३ हजार ६ सय ८१ र ओसाकामा सम्पन्न कार्यक्रमको आम्दानी १८२ मान ६ हजार २ सय ७७, खर्च ७० मान ९ हजार ९ सय ९९ येन भएको संस्थाका सदस्य तथा कार्यक्रमका आर्थिक संयोजक हरीचन्द्र पौडेलले बताउनुभयो । यद्घपी उल्लेखित रकममा सबै क्षेत्रबाट अझै केहि रकम उठ्न बाँकी रहेको पौडेलले जानकारी दिनुभयो ।
यसैबीच, भेलामा बोल्दै समाजका अध्यक्ष सरोज कंडेलले समाजको उद्देश्य लाई माया गरी कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने समग्र जापानबासी चितवनबासी तथा अन्य नेपाली समुदाय, आर्थिक रुपमा सहयोग गर्नुहुने बिभिन्न संघसंस्था, कम्पनी तथा महानुभाब, चन्दादाता सम्पूर्णमा चितवन समाजकोतर्फबाट धन्यबाद तथा आभार व्यक्त गर्नुभएको समाजकी प्रवक्ता मनिषा बास्तोलाले जानकारी दिनुभएको छ । साथै, अध्यक्ष कंडेलले कार्यक्रमबाट संकलित रकम समाजको उद्देश्य अनुरुप चितवनको भरतपुर अस्पताललाई चिकित्सा उपकरण प्रदान गर्ने र गरीब तथा असहाय बालबालिकालाई हरुलाई पढ्न लेख्न पाउने अधिकारको सु–निश्चित गराउन शिक्षामा लगानी गर्ने प्रतिबद्द रहेको भन्दै विशेष समय लिएर सम्बन्धित क्षेत्रमा यथासक्य छिटो लगानी गर्ने बताउनुभएको प्रवक्ता बास्तोलाले बताउनुभयो ।
समाज सेवामा सदा समर्पित चितवन समाजको पुनर्गठनपछिको पहिलो कार्यक्रम सफल भएको भन्दै समाजका महासचिव छबिलाल सापकोटाले भविष्यमा पनि यस्तै सहभागिता र सहयोगको अपेक्षा राखी सदैब हातेमालो गर्दै अगाडि बढ्न जापानबासी समग्र नेपाली समुदायमा अनुरोध गर्नुभएको छ ।समाजमा आइपरेका विभिन्नखाले समस्यालाइ समुहमा मिलेर नै सुल्झाउन सकिने भएकोले चितवन समाज यस्ता कार्यप्रति सदा प्रतिबद्घ रहेको समेत उहाँले बताउनुभयो ।