काठमाडौँ– राजधानीको नयाँ बानेश्वरस्थित खरिबोट चोकमा एउटा पान पसल छ । साँझ–बिहान त्यही पान पसलको बाटो हुँदै निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचन ल्यान्डक्रुजर प्राडोमा ओहोर–दोहोर गर्थे ।
असोज २३ गते खरिबोट नजिकै रहेको घरबाट अनामनगरस्थित निर्माण व्यवसायी महासङ्घको कार्यालयतर्फ जाँदै गर्दा त्यही पान पसलबाट केही मिटरको दूरीमा गौचनलाई गोली हानेर हत्या गरियो । हाई प्रोफाइलमाथि दिनदहाडै गोली चलाउने अपराधीको अनुसन्धान त्यही पान पसलबाट सुरु भएको थियो ।
गौचनलाई गोली हान्नुभन्दा दुई दिन अघिदेखि एक युवा दिनभर पान पसलमा बस्थे, उनले पान खाँदै गौचनको ‘रेकी’ गरेका थिए । ‘पानमा ल्वाङ राख्, सुकुमेल छ कि छैन ? त्यो पनि राख्’ भन्दै दुई दिन लगातार पान खाने व्यक्ति थिए श्यामबहादुर गुम्बे ।
श्यामबहादुर गुम्बे नेपाल आर्मीको कालिबक्स गणबाट भागेका ‘भगौडा आर्मी’ हुन् । उनैले गौचनमाथि गोली चलाएका थिए । चितवनबाट धादिङ हुँदै गौचनलाई गोली हान्न काठमाडौँ आएका गुम्बेले नागढुङ्गा आएपछि आफ्नो मोबाइल स्विच अफ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गुम्बे हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
फोरेन्सिक जाँचको रिपोर्टअनुसार गौचनको हत्यामा दुईवटा छुट्टा–छुट्टै हतियार प्रयोग भएको पाइएको छ । गुम्बेबाहेक ‘गौचन अप्रेशन प्लान’का अर्का सुटर थिए, अमर राना अर्थात् ‘काले भाइ’ ।
‘काले भाइ’लाई पनि प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन तर गौचन हत्याकाण्ड छानविन समितिका संयोजक डीआईजी गणेश केसीले एकजना सुटर पक्राउ परिसकेको दाबी गरेका छन् । उनी भन्छन्– ‘घटनामा संलग्न एकजना सुटर नुवाकोट पञ्चकन्याका राजिव स्याङ्तानलाई हामीले नियन्त्रणमा लिएका छौँ, अर्का एकजना मात्र फरार छन् ।’
‘गौचन हत्याकाण्ड’ नजिकबाट नियालेका एक सुरक्षा अधिकारीका अनुसार राजिव स्याङताङले गौचनको गाडीमा ढुङ्गा प्रहार गरेर अल्मल्याउने भूमिका निर्वाह गरेका थिए । योजनामै ढुङ्गा प्रहार गरिएको हुनाले स्याङतानले हतियार चलाएनन्, बरु ढुङ्गा हान्ने ड्युटी पूरा गरेर घटनास्थल छाडेका थिए ।
‘ढुङ्गा प्रहार गर्ने कसरी सुटर हुन्छ ?’ जिज्ञासामा डीआईजी केसीले जबर्जस्ती सुटर करार गरिएका स्याङतान सुटर नै भएको दाबी गर्दै भने– ‘अहँ, यिनीहरूलाई बचाउन ठूलो गिरोह लागेको छ, किनकि यहाँ करोडौँको खेल छ ।’
गौचनलाई ढालेपछि पाथीभरा दर्शन !
‘गौचन हत्या योजना’ सफल भएपछि अप्रेसनमा प्रयोग भएको एउटा मोटरसाइकल आक्रमणकारीहरूले पिङ्गलास्थामा लगेर छाडिदिए । गौचनलाई गोली हानेको आधा घण्टापछि आक्रमणकारीहरूले प्रहरीलाई टेलिफोन गरेर पिङ्गलास्थानमा मोटरसाइकल छाडिएको जानकारी दिएका थिए ।
सादा पोसाकका प्रहरी तत्काल पिङ्गगलास्थानमा पुगे । तीन दिन सर्भिलेन्स गर्दा पनि झाडीमा लुकाएको जस्तो गरी राखिएको मोटरसाइकल लिन कोही आएन्, तेस्रो दिन प्रहरीले मोटरसाइकल उठायो ।
प्रहरीलाई मोटरसाइकल छाडेको स्थानको सूचना चुहाएसँगै मुख्य सुटर श्यामबहादुर गुम्बे र अमर राना ‘काले भाइ’ ताप्लेजुङतिर लागेका थिए । श्याम गुम्बे र अमर राना मिल्ने साथी हुन् । नेपाली सेनामा सँगै काम गरेका उनीहरू जागिर छाडेर अपराध कर्ममा लागेको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार ताप्लेजुङमा रहेको पाथीभरा देवीको मन्दिर दर्शन गरेपछि उनीहरू झापाको दमकतर्फ लागेका थिए ।
दमकबाट उदयपुर पुगेका उनीहरू अमर रानाको बैनीको घरमा पुगे । कात्तिक ४ गते अमरको बैनीको हातबाट टीका लगाएँसगै उनीहरू उदयपुरको झिलझिले भन्ने स्थानबाट गायव भएका छन् । मुख्य सुटर पत्ता लगाउन नसकेपछि गुम्बे र काले भाइको नाम ‘फरार सूची’मा राखेर डीआईजी गणेश केसीले अनुसन्धानको फाइल महानगरीय प्रहरी परिसर काठमाडौँलाई हस्तान्तरण गरिसकेका छन् ।
‘गौचन हत्याकाण्ड’का मुख्य योजनाकार मानिएका गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको थप अनुसन्धान जारी राखेको छ ।
समिरको डेरामा भारतीय कमाण्डो !
‘गौचन हत्याकाण्ड’का मुख्य योजनाकार भनिएका गुण्डा नाइके समिरमान सिंह बस्नेत लामो सयमदेखि भारतमा बस्दै आएका थिए । हम्मेसी मोबाइल नचलाउने बस्नेत स्काइपमार्फत आपराधिक दुनियाँमा रमाइरहेका थिए ।
बैङ्गलोरको एउटा क्लब नजिकै समिरको डेरामा एकाएक भारतीय कमाण्डो प्रवेश गरे । प्रहरी स्रोतका अनुसार समिरले त्यतिबेला भारतिय कमाण्डो फौजलाई भनेका थिए– ‘यहाँ भारतका खरतनाक अपराधिलाई तपाईंहरू केही गर्न सक्नुहुन्न, मैले यहाँ के बिगारेको छु ?’
समिरलाई भारतीय कमाण्डो फोर्सले नियन्त्रणमा लियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र विशेष ब्युरोका सुरक्षा अधिकारी त्यहाँ सँगै थिए ।
भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका समिरलाई नेपाल प्रहरीले चितवन ल्याएर राखेको बताइएको छ । चितवनमा केही दिन राखेपछि काठमाडौँ ल्याइएका बस्नेतलाई मङ्सिर १७ गते केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेको छ ।
अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरूका अनुसार समिरलाई स्काइप आईडी ट्रेस आउट गरेर नियन्त्रणमा लिइएको थियो ।
समिरमान सिंह बस्नेत बाफल एरियाका गुण्डा हुन् । कुमार घैँटेको सहयोगीका रूपमा काम गर्दै आएका बस्नेत प्रहरी इन्काउन्टरमा घैँटे मारिएपछि भारत पसेका थिए । काङ्ग्रेस निकट कुमार घैँटे गजुरमुखी निर्माण सेवाको व्यानरमा ठेक्का पट्टा गर्थे । ठेक्का–पट्टा गर्दा शरद गौचन र कुमार घैँटेको हिमचिम बढेको थियो । त्यतिबेला घैँटेको पैसा गौचनले चलाएका बारे समिर जानकार थिए । अहिले घैँटेकी पत्नीले आफ्नो श्रीमानले चलाउन दिएको पैसा माग्दा गौचनले ‘सकेको गर’ भनेपछि समिरमानले गोली हान्न लगाएको डीआईजी गणेश केसी नेतृत्वको अनुसन्धान टिमले निष्कर्ष निकालेको छ ।
घैँटेले सञ्चालन गरेको गजुरमुखी निर्माण सेवाको डेढ करोड र समिरको एक करोड पैसा चलाएका शदरकुमार गौचनले उक्त रकम फिर्ता गर्न आनाकानी गरेपछि समिर र उनीबीचमा मनमुटाव बढेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
‘समिरमान सिंह बस्नेतले गौचनसँग वीरगञ्ज–विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काबापतको दुई प्रतिशत कमिसन मागेको देखिन्छ’ केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी पुष्कर कार्की भन्छन्, ‘गौचनले १० करोड ठेक्का कमिसन बाँडे पनि आफूलाई भाग नछुट्याएको र पुरानो पैसा नदिएको झाँेकमा बस्नेतले हत्या योजना बनाएको देखिन्छ ।’
तीन महिने प्लान, रोशनको व्यवस्थापन
समिरले तीन महिनाअघि नै गौचनको हत्या गर्ने योजनासहित कोटेश्वरमा रेस्टुरेन्ट व्यवसायसमेत गर्ने गङ्गा लिम्बुलाई ‘रेकी’ गर्ने जिम्मा दिएका थिए । गङ्गाले रेकी गर्न सुरु गरेपछि दसैँताका एकपटक समिरले गौचनलाई टेलिफोन गरेर पैसा मागे तर गौचनले रेस्पोन्स गरेनन् ।
दसैंको समयमा रेस्पोन्स नपाएपछि समिरले रोशन बुढाथोकीलाई काठमाडौँमा सम्पूर्ण व्यवस्थापनको जिम्मा दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यसअघि गुण्डा नाइके मनोज पुनः समेत संलग्न भनिएको गौचन हत्याकाण्डमा पछिल्लो समय उनको संलग्नता पुष्टि नभएको डीआईजी गणेश केसी बताउँछन् । भन्छन्– ‘यसमा मनोज पुनको संलग्नता भेटिएन ।’
समिरमान सिंह बस्नेत र लोप्साङ्ग लामाको योजनाअनुसार काठमाडौमा रोशनले व्यवस्थापनको काम गरे । अन्ततः निर्माण व्यवसायका एक बादशाहको दुःखद् अवसान हुन पुग्यो !
ठेकेदारले जन्माए गुण्डा
नेपालका अधिकांश ठूला ठेक्कामा केही सीमित निर्माण व्यवसायीहरूको सिन्डिकेट छ । उनीहरूले भनेको फर्मलाई ठेक्का पार्न र ‘च्याँखे कमिसन’ खानका लागि निर्माण व्यवसायीहरूले कुल अङ्कको १० प्रतिशत वितरण गर्छन् । जसमा ‘गुण्डा कमिसन’ छुट्टै हुन्छ ।
नेपालका निर्माण व्यवसायमा विशेषगरी जिपछिरिङ लामा, स्वर्गीय शरदकुमार गौचन, मोहन आचार्य, विक्रम पाण्डे, जयराम लामिछाने र कान्छाराम तामाङले एकछत्र राज गर्दै आएका छन् ।
आफूले भनेको निर्माण व्यवसायीलाई ठेक्का पार्नका लागि अन्य फर्मलाई दर्ता गर्नै नदिन ठूला निर्माण व्यवसायीले गुण्डाको प्रयोग गरेर ‘टेन्डर कब्जा’ गर्छन् । अनि ठेक्का स्वीकृत हुनासाथ गुण्डालाई कमिसन खुवाउँछन् ।
‘गुण्डा जन्माउने काममा निर्माण व्यवसायीको ठूलो कमजोरी देखिन्छ’– केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी पुष्कर कार्की भन्छन्– ‘मैले अपराध महाशाखाको प्रमुख हुँदा निर्माण व्यवसायीहरूलाई ठेक्का–पट्टामा गुण्डा कमिसन नराख्न आग्रह गरेको थिएँ । त्यही कमिसनका कारण गुण्डा समूह एकपछि अर्को बढ्दै गएका छन् ।’