काठमाडौं, १६ साउन – म्यागसेसे पुरस्कार विजेता महावीर पुनले आफ्नो नाममा रहेको जग्गा राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि प्रदान गर्ने घोषणा गरेका छन् । आफ्नो नाममा रहेको करिब ३ करोड रुपैयाँ पर्ने २८ रोपनी जग्गा बेचेर केन्द्र निर्माणको लागि दान दिने घोषणा उनले आइतवार फेसबुकमार्फत गरेका हुन् । फेसबुकमा उनले उक्त जग्गाको लालपुर्जाको प्रतिलिपि समेत पोस्ट गरेका छन् ।
उनले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब ३ करोड रुपैयाँ पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि शुरु गर्छु ।’ पूर्वअर्थमन्त्री डा. रामशरण महत र अहिलेका अर्थमन्त्री विष्णु पौडेललाई पटकपटक केन्द्र बनाउन आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै पुनले आफ्नो नाममा रहेको २८ रोपनी जग्गा बेच्न लागेको र बेचेबापत आउने रकम केन्द्र निर्माणमा सहयोग गर्ने उल्लेख गरेका छन् । ‘सरकारी अधिकारीलाई धेरैपटक अनुरोध गरें । मेरा कुरा सुन्छन् तर वास्ता गर्दैनन् । कार्यान्वयन गर्दैनन्,’ पुनले लोकान्तरसँग भने, ‘त्यसैले आफ्नै जग्गा बेचेर केन्द्र निर्माण गर्ने अभियानमा जुटेको हुँ ।’ उनले मुलुकमा भएका प्रतिभाशाली र सिर्जनशील व्यक्तिहरूलाई सहभागी गराई नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्ने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो ।
भविष्यमा कुनै राम्रो काम गर्ने उद्देश्यका लागि अमेरिकाको म्यारिल्यान्डमा बस्ने बन्बरे र आफ्ना भाइ पद्म पुनसँग मिलेर २० वर्षअघि पोखराको बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा उक्त जग्गा किनेको पुनले बताएका छन् । पुनले लेखेका छन् – ‘२० वर्षअघि पद्म भाइको नाममा उक्त जग्गा किनेका थियौं तर उनी अहिले उनी अमेरिकामा बसोबास गर्ने भएकाले जग्गा आफ्नो नाममा नामसारी गरिएको हो ।’ ‘अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गइसकेको अवस्थामा र मैले नेपालको विकासका लागि मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छु भनिरहेको अवस्थामा सो २८ रोपनी जग्गा पनि दान गर्ने घोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् । आविष्कार केन्द्र निर्माणका लागि पैसाको अति नै आवश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने वा पैसा पुगेको खण्डमा उक्त जग्गामा अनुसन्धानका लागि केही भौतिक संरचना बनाइने उनले उल्लेख गरेका छन् । उनले केन्द्र निर्माणका लागि इच्छुक अन्य दाताहरूलाई पनि फेसबुक मार्फत आह्वान गरेका छन् । केन्द्र निर्माणमा सहयोग गर्न उनले सबैलाई आह्वान गरेका हुन् ।
साभार: लोकान्तर