अमेरिका (न्युयोर्क )- अमेरिकाका आठवटा सहरमा नेपाल आइडलका विजेताले कन्सर्ट दिने भएका छन् । २०१८ को जनवरी र फेब्रुवरीमा उनीहरूले एक महिना लामो अमेरिका टुर गर्न लागेका हुन् ।
केटीएम इन्टरटेनमेन्टको आयोजनामा हुने कन्सर्टमा नेपाल आइडलका विजेता बुद्ध लामा र उपविजेताहरू निशान भट्टराई तथा प्रताप दासले आफ्ना प्रस्तुति दिनेछन् । उनीहरूको साथमा प्रस्तोता सुशील नेपाल पनि रहने छन् ।
केटीएमले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूको कन्सर्टबारे जानकारी गराएको हो । कन्सर्ट आयोजना हुने सहर र मिति भने तय हुन बाँकी छ ।
केटीएम इन्टरटेनमेन्टले न्युयोर्क सहरमा विभिन्न कन्सर्ट तथा चलचित्र प्रदर्शन गर्दै आएको छ । कर्मा तेन्जिङ र रोकेश गुरुङले स्थापना गरेको संस्थाले नेपालबाट कलाकार बोलाएर विभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।