साझा प्रकाशनका महाप्रवन्धक शर्मालाई हटाउनुको कारण माग्यो सर्वोच्चले
Everest Fuji News२०७४ आश्विन २४ मा प्रकाशितPublished at 2017 Oct 10
काठमाडौं, असोज २३ – सर्वोच्च अदालतले साझा प्रकाशनका महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुको कारण माग गरेको छ ।
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको इजलासले शर्मालाई हटाउनुको कारण पेश गर्न शिक्षा मन्त्रालयकाका नाममा आदेश दिएको हो । अनियमितता गरेको आरोपमा शिक्षा मन्त्रालयले शर्मालाई असोज ८ गते बर्खास्त गरेको थियो ।
यसअघि अवकाश पाएका कर्मचारीले पटक–पटक आफूले पाउनुपर्ने उपदान नपाएको आक्रोश महाप्रबन्धक शर्मामाथि पोख्दै महाप्रवन्धक शर्मामाथि अनियमितताको आरोप लगाउँदै आएका थिए । शर्मामाथि ‘सबैको नेपाली’, ‘एक चिहान’ तथा ‘लिङ्क इङ्ग्लिस’ जस्ता पाठ्यपुस्तक साझा प्रकाशनको प्रेसमा नछापी मिलेमतोमा निजी छापाखानालाई छाप्न दिएको आरोप लाग्दै आएको छ
आफूलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै शर्माले पुनर्बहालीको माग राखी आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चले उहाँको माग अनुसार पुनर्बहालीको अन्तरिम आदेश भने जारी गरेको छैन ।
अन्तरिम आदेश जारी गर्ने बारेमा छलफल गर्न सर्वोच्चले वादी शर्मा र प्रतिवादी शिक्षामन्त्रालयसहितलाई बोलाएको छ ।