मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कार घनश्याम कँडेललाई र जगदम्बा–श्री पुरस्कार दुर्गा बराल ‘वात्स्यायन’ लाई विशेष समारोहका बीच प्रदान गरेको छ ।
कवि घनश्याम कँडेललाई मदन पुरस्कार अर्पण गर्दै मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित ।
६ असोजमा ललितपुरस्थित कमलमणि थियटरमा आयोजित विशेष समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कृत व्यक्तित्व द्वयलाई सम्मान गर्नुका साथै प्रमाणपत्र र पुरस्कार राशी अर्पण गरेका हुन् ।
पुरस्कृत व्यक्तित्व वात्स्यायनले आफ्नो पाँच दशक लामो कार्टून कलाको यात्रामा जगदम्बा–श्री पुरस्कारले ठूलो उर्जा र जिम्मेवारी थपिदिएको बताए ।
उनले भने, “अहिले देशमा प्रजातन्त्रको पुनर्बहाली भएर पनि गणतन्त्र आइसकेको छ तर, जनजीवनको समस्याहरु झनै विकराल हुँदै गएका छन् । राजनीति भद्रगोल भएको छ । सामाजिक सद्भाव विथोलिएको छ । भ्रष्टाचारले व्यापकता पाएको छ । यस्तो अवस्थामा हमी कार्टूनिष्ट अझ गम्भीर र जिम्मेवार बन्नु पर्ने हुन्छ । यो दायित्वबोधले पनि मलाई झन धेरै कार्टूनहरु बनाउन प्रेरित गरिरहन्छ ।”
कार्टूनिस्ट दुर्गा बराल 'वात्स्यायन' लाई जगदम्बा-श्री पुरस्कार अर्पण गरिँदै ।
मदनपुरस्कार प्राप्त कवि घनश्याम कँडेलले आफूले पुरस्कार पाउँदा सम्पूर्ण कविहरु सम्मानित भएको, छन्दमा कविता लेख्ने कविहरु त झन विशेष रुपमा सम्मानित भएको जस्तो लागेको बताए ।
उनले भने, “यस पुरस्कारले मेरो नयाँ पहिचान बनाएको छ र मेरो दायित्वलाई अझ बढाएको छ ।”
समारोहमा सुदर्शनराज तिवारीले ‘नेपाल उपत्यकाका ऐतिहासिक शहरी सभ्यताको पुनर्निर्माणः भव्य विगतको एउटा सार्थक भविष्य बनाउने उद्देश्यका साथ’ शीर्षकमा विद्वत प्रवचन दिएका थिए ।
कवि घनश्याम पौडेललाई उनको काव्य कृति ‘धृतराष्ट्र’ का लागि मदन पुरस्कार प्रदान गरिएको हो भने वात्स्यायनलाई कार्टूनमार्फत समाजमा सचेतना जगाउँदै नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको हो ।
समारोहमा मदनपुरस्कार गुठीका संस्थापक कमलमणि दीक्षितको संझना गरिएको थियो ।