शनिबार, २४ भदौ, २०७४
वासिंटन, भदौ २४ । क्यारेवियन द्वीपमा विध्वंस मच्चाएको इर्मा नामक समुद्री आँधी अमेरिकाको फ्लोरिडातर्फ अघि बढ्दै छ । इर्माले फ्लोरिडालाई तहसनहस बनाउन सक्ने आशंकामा जनजीवन त्रसित भएको छ ।
अमेरिकाको संघीय आपतकालीन एजेन्सीका प्रमुख ब्राक लान्गले इर्माले फ्लोरिडासहित छिमेकी राज्यका लागि विनासकारी हुनसक्ने चेतावनी दिएका छन् । उनले फ्लोरिडाका केही स्थानमा कयौं दिनसम्म विद्युत् अवरुद्ध हुनसक्ने बताए ।
पाँच लाख मानिसलाई सुरक्षित स्थानमा जान उनले सुझाव दिएका छन् । अमेरिकाको मौसम विभागले २ सय ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधी आउन सक्ने सम्भावना रहेको जनाएको छ ।
यसअघि इर्माले क्यारेविन द्वीपमा तहसनहस बनाएको थियो । त्यहाँका १ करोड २० लाख मानिस आँधीबाट प्रभावित भएका छन् । इर्मा आँधीका कारण फ्रान्सेली द्वीपमा मात्रै ९ जनाको मृत्यु भएको थियो भने सात जना बेपत्ता छन् । (एजेन्सी)