काठमाडौं, २२ भदौ — वरिष्ठ पत्रकार तथा चर्चित कन्नड ट्याब्लोइड पत्रिका गौरी लंकेश पत्रिकेकी सम्पादक गौरी लंकेशलाई आफ्नो हत्या हुँदैछ भन्ने आभास एक हप्ताअघि नै रहेको खुलेको छ ।
यसैबाट जन्मेको डरका कारण गौरीले आमा र बहिनीसँग यसको चर्चा पनि गरेकी थिइन् । गौरीले शंकास्पद मानिसहरू उनको घरवरिपरि घुमिरहेको बताएकी थिइन् ।
तर गौरीले यसको जानकारी प्रहरीलाई दिइनन् ।
कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले पनि गौरीले कहिल्यै पनि आफूलाई ज्यान मार्ने धम्की आएको खबर नगरेको बताए । उनी प्रहरीका उच्च अधिकारीहरूसँग कुराकानी गरिरहने भएपनि उनीहरूलाई सुरक्षा स्थितिको बारेमा बताइनन् ।
गौरीकी बहिनी कविताले प्रहरीलाई दिएको बयानमा भनिन्, ‘एक हप्ताअघि गौरी बानाशंकरीस्थित मेरा घरमा बिरामी आमालाई हेर्न आएकी थिइन् । त्यतिखेर उनी आफ्नो सुरक्षाका सम्बन्धमा चिन्तित थिइन् । केही शंकास्पद मानिसहरू आफ्नो घरवरिपरि घुमिरहेको उनी बताउँथिन् । मैले र आमाले उनलाई यस विषयमा प्रहरीलाई जानकारी दिने सल्लाह दियौं । गौरीले चाहिँ फेरि त्यस्ता मानिसहरू देखिए भने प्रहरीलाई अवश्य गुनासो गर्ने बताइन् ।’
तर केही दिनमै गौरीको ज्यान गयो । मंगलवार राति गौरीको राजेश्वरीनगरस्थित आवासमा अज्ञात आक्रमणकारीहरूले गोली हानेर हत्या गरिदिए । शुरुवाती रिपोर्टअनुसार गौरीलाई एकदम नजिकबाट आक्रमणकारीहरूले सात राउन्ड गोली हाने । उनको घटनास्थलमै मृत्यु भयो ।
गौरी कन्नड कवि तथा पत्रकार पी लंकेशकी छोरी थिइन् ।
एजेन्सी