काठमाडौं । चीनको सहर शियामेमा चलिरहेको ब्रिक्स सम्मेलनको मंगलबार दोस्रो र अन्तिम दिन हो । मंगलबार बिहान ‘डाइलग अफ इमरजिङ एन्ड डेभलपिङ कन्ट्रिज’ सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो दशक ब्रिक्स देशहरूका लागि अहम् महत्त्वको रहेको बताए र ‘सबैसँग सबैको विकास’ को नारा दिँदै भने, ‘‘यो निकै जरुरी छ ।’’
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतंकवादविरुद्ध संघर्ष, साइबर सुरक्षा र विपद् प्रबन्धनमा सहयोग र समुचित कार्यान्वयनमाथि समेत जोड दिए । सम्मेलनमा सदस्य देशका नेताहरूले विकासशील देशहरूमा बढिरहेको बजारका बारेमा समेत चर्चा गरेका थिए ।
मंगलबार नै भारतीय प्रधानमन्त्री मोदी ब्रिक्स सम्मेलनदेखि भिन्न राजनीतिक भेटघाटमा व्यस्त रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । डोक्लाम विवादको तात्कालिक समाधानपछि मोदीले यस पटक चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पहिलोचोटि भेटघाट गरेका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग समेत भेटवार्ता गरेका छन् ।
मोदीले सम्मेलनमा आतंकवादको मुद्दा उठाएर अन्य सदस्य देशहरूलाई सो कुराको समर्थन गर्न बाध्य पारेको समाचारमा उल्लेख छ । भारतीय सञ्चार माध्यमले ब्रिक्स घोषणापत्रमा समावेश भएको आतंकवादप्रतिको कठोर दृष्टिकोण मोदीकै धारणा भएको उल्लेख गरेका छन् । भारतीय सञ्चार माध्यमले लेखेका छन्, ‘‘मुख्य कुरा त यो घोषणापत्रमा जुन आतंकवादी संगठनहरूका बारेमा बताइएको छ, ती पाकिस्तानसँग सम्बन्धित छन् । यसबाट स्पष्ट हुन्छ, प्रधानमन्त्री मोदीको पहलको अगाडि चीनले चाहेर पनि आफ्नो साथी पाकिस्तानलाई बचाउन सकेन ।’’