भदौ १५ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताउनुभएको छ ।राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण उत्पन्न परिस्थितिको समाधान वार्ताबाट हुने नदेखिएको बताउनुभएको हो । आफूहरुले गएको २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता नै गरिरहेको र उसले त्यसको नाजाय फाइदा लिएको ट्रम्पको भनाई छ ।
कारवाही बाहेक अब अर्को कुनै विकल्प नरहेको ट्रम्पले बताउनुभएको छ । तर अमेरिकी रक्षा मन्त्री जेम्स म्याट्टिसले भने अझै पनि वार्ताबाट समाधान खोज्न सकिने सम्भावना रहेको बताउनुभएको छ । उत्तर कोरियाले गएको मंगलबार बिहानै जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको थियो ।
त्यसपछि बुधबार उत्तर कोरियाले जापानको माथिबाट मिसाइल प्रहार गुर्न प्रशान्त क्षेत्रमा आफ्नो सैन्य अभियानको पहिलो चरण रहेको बताएको थियो । उत्तर कोरियाले अबको आफ्नो निशाना प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआम रहेको चेतावनी दिएको थियो ।