Everest Fuji News२०७४ भदौ १३ मा प्रकाशितPublished at 2017 Aug 29
ह्युस्टन (टेक्सस) – हुरिकेन हार्बी सहितको भीषण बर्षाले अमेरिकाको चौथो ठूलो शहर ह्युस्टनको जनजीवन ठप्प भएको छ ।
शुक्रबार रातिदेखि सुरु भएको आँधी सहितको वर्षाले ह्युस्टनको उद्योगधन्दा, व्यापार, स्कुल, विमानस्थल पुरै बन्द भएका छन् । मानिसहरु घरबाहिर निस्कन समेत सकेका छैनन् ।
ह्युस्टन महानगरको डाउनटाउन, मेयरल्याण्ड, साइप्रस, केटी, रिचमण्ड, क्लियरलेक, लिगसिटी, मेडिकल सेन्टर, रोजन्सवर्ग सर्वाधिक प्रभावित भएका छन् । प्राय सबै हाइवे र फिडर रोडहरु यतिखेर नदी र तलाउमा परिणत भएका छन् । जहाँ गाडी होइनन् डुंगाहरु छन् ।
सरकारले केही स्थानहरुमा सर्वसाधारणलाई आफ्नो घर छाडेर सुरक्षित ठाउँमा जान आदेश दिएको छ । स्थानीय चर्चित बेन्टब हस्पिटलमा समेत सबै बेडहरु खाली गरेर बिरामीहरुलाई अन्यत्रै सारिएको छ ।
मौसम विभागले आउँदो बुधबारसम्म वर्षा जारी रहने जनाएको छ । हुरिकेन हार्बी सहितको बर्षाले नेपालीहरु समेत विस्थापित भएका छन् । झण्डै एक दर्जन भन्दा धेरै नेपाली परिवार विस्थापित भएर सुरक्षित स्थानमा सरेका छन । यस बाट प्रभावित हुने नेपाली संख्या अरु बढ्ने स्थानीय नेपालीले हिमालयखबर संग बताएका छन् I नेपाली समुदायले निर्माण गरेको पशुपतिनाथ मन्दिरमा समेत बाढी पसेको छ ।
कतिपय स्थानहरुमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । पीडितको राहत र बसोबासको लागि सबै समुदाय जुटेका छन् । धेरै रेष्टुरेन्टहरुले पीडितहरुका लागि निशुल्क खानाको समेत व्यबस्था गरेका छन् ।
२५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । १३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको यस आँधी बुधबारदेखि मौसममा सुधार आउने अनुमान गरिएको छ ।