मेक्सिकोमा पत्रकारको हत्या

Everest Fuji News २०७४ भदौ ८ मा प्रकाशित       Published at 2017 Aug 24


कोआत्जाकोलकोस / एजेन्सी– मेक्सिकोको भेराक्रुज राज्यमा जारी हिंसाका क्रममा भएको सरकारविरोधी प्रदर्शनमा एक पत्रकारको गोली प्रहार गरी हत्या गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । मंगलबार मारिएका यी पत्रकारसहित मेक्सिकोका यस वर्षको सुरुदेखि हालसम्म मारिएका पत्रकारको संख्या १० पुगेको छ । ओक्यानडिडो रिओस नामक ५५ वर्षीय ती पत्रकार एक क्षेत्रीय समाचारपत्रमा अपराधसम्बन्धी समाचारको संवाददाता थिए । भेराक्रुज राज्यको हुइयापान डे आकाम्पोमा सहरमा रिओसको गोली प्रहार गरी हत्या गरिएको थियो । मेक्सिकोमा जारी हिंसाका क्रममा पत्रकार र मानवअधिकारवादीको संरक्षण विषयमा सरकारद्वारा जारी एक कार्यक्रम रिओस पनि संलग्न रहेका थिए । सो जानकारी द स्टेट्स कमिसन द प्रोटेक्सन अफ जर्नालिस्ट इन भेराक्रुजका प्रमुख जोर्ज मोरालेसले दिएका छन् । रिओसले ‘डिओरियो डे आकायुक्यान’ नामक एक पत्रिकामा सरकारी भ्रष्टाचार र अपराधसम्बन्धी घटनाको समाचार करिब एक दशक यता लेख्दै आएका थिए । सोही कारण उनी यस इलाकामा प्रख्यात थिए । सो समाचार पत्रका प्रधान सम्पादक सेसिलिओ पेरेजका अनुसार रिओसलाई पूर्वप्रमुखको तर्फबाट ज्यान मार्ने धम्की आएको थियो । सन् २००६ यता हालसम्म मेक्सिकोमा १ सयभन्दा बढी पत्रकार मारिएका छन् । मेक्सिको पत्रकारका लागि विश्वकै एक अति जोेखिमयुक्त देशका रूपमा रहेको छ । रिओस यस वर्ष मेक्सिकोमा हत्या भएका पत्रकारमध्ये दशौं हुन् । यसरी यस वर्ष हरेक महिना एकजना पत्रकार मेक्सिकोमा मारिन पुगेका छन् । यसरी, मारिएका पत्रकारका हत्याराको खोजी भने हुने गरेको छैन । पत्रकारमाथि मेक्सिकोमा ठूलो हत्या हिंसा हुने गरेको भए पनि यसको आवश्यक सुनुवाइ भने कुनै पनि निकायबाट हुने गरेको छैन । मेक्सिकोको र विश्वकै पत्रकारिता र पत्रकारको अधिकारसँग सम्बन्धित निकायहरूका अनुसार पत्रकारका हत्यारालाई मेक्सिकोमा कारबाही नहुनाले नै यहाँको पत्रकारिता व्यवसाय नै जोखिमपूर्ण हुँदै गएको छ । यी संस्थाहरूद्वारा हालै प्रकाशित एक प्रतिवेदनअनुसार पत्रकार हत्याका कम्तीमा पनि ९० प्रतिशत घटनामा संलग्नमाथि कारबाही नै भएको छैन । यसरी, ९० प्रतिशत हत्यारामाथि नै कारबाही नभएपछि यहाँ दण्डहीनता दिनप्रतिदिन बढेको र पत्रकारहरूमाथि हिंसात्मक हमला हुने गरेको बताइएको छ । मेक्सिकोका पत्रकारहरूले यहाँका राष्ट्रपतिसँग उनीहरूको सुरक्षाको विषयमा ध्यानाकर्षण गराएका थिए । रिपोर्टर्स विदाउट बोर्डरका अनुसार मेक्सिको विश्वमा पत्रकारको हत्या हिंसा हुने देशको उच्च जोखिममा पर्दछ । सो संस्थाका अनुसार पत्रकारमाथि हुने हिंसाको विश्व सूचीमा मेक्सिको तेस्रो स्थानमा पर्दछ । विश्वमा पत्रकार मारिने जोखिमको सूचीमा सिरिया पहिलो स्थानमा र अफगानिस्तान दोस्रोमा पर्दछ । सिरियामा पछिल्लो समयमा सरकारका विरुद्धमा सुरु भएको आन्दोलन हिंसा र गृहयुद्धमा परिणत भएको छ । जसले गर्दा यहाँका पत्रकारहरू सरकारी र विद्रोही सेनाको बन्दुकका निशाना बन्नुपरेको छ । त्यस्तै, पत्रकार मारिने विश्वको दोस्रो सूचीमा पर्ने अफगानिस्तानमा पनि तालिबानहरूले पत्रकारलाई तारो बनाउने गरेका छन् । गत वर्ष मात्र मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । यसरी, यहाँ हरेक महिना एकजना पत्रकारले ज्यान गुमाउने गरेको तथ्यांक छन् । पत्रकारहरूले यस्ता आक्रमणको विरोध गर्र्दै पत्रकारको सुरक्षाका लागि सरकारसँग विशेष आग्रह गर्ने गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.