Everest Fuji News२०७४ भदौ ८ मा प्रकाशितPublished at 2017 Aug 24
/ एजेन्सी– यमनको राजधानी सानामा भएको एक हवाई कारबाहीमा दर्जनौं सर्वसाधारण मारिएका प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यमनको राजधानी सानामा नियन्त्रण जमाएर बसेका विद्रोही समूह हुथीले सञ्चालन गरेको टेलिभिजन च्यानलका अनुसार यस कारबाहीमा परी ३० भन्दा बढी सर्वसाधारण मारिएका छन् । यमनी सरकारलाई समर्थन गर्दै आएका साउदी अरेबियाआबद्व संयुक्त गठबन्धनले सो हवाई कारबाही जारी राखेका हुन् । हालसम्म यस कारबाहीका क्रममा कति व्यक्तिले ज्यान गुमाएका छन्, यसको एकिन संख्या भने प्राप्त भएको छैन । राजधानी सानामा बुधबार कैयौंपटक भएको यस हवाई कारबाही ‘काट फाम’ नजिकै रहेको भवन निर्माणमा सहभागी कामदारसमेत परेका स्रोतले जानकारी दिएको छ ।
हुथी विद्रोही यस इलाकामा बसोबास भएको आशंकामा सो कारबाही भएको बताइएको छ । साउदी अरेबियाको समर्थन रहेको यमन सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच सन् २०१५ बाट जारी युद्धमा हालसम्म ८ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
यमनमा हालका दिनमा साउदी अरेबियाआबद्ध हवाई कारबाही बारम्बार हुने गरेको पाइन्छ । यस्ता कारबाहीमा निर्दोष सर्वसाधारणले ज्यान गुमाउने क्रम पनि जारी रहेको छ ।