काठमाडौ : उपक्षेत्रीय संगठन बे अफ बंगाल इनिसियटिभ फर मल्टिसेंक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेशन (बिम्स्टेक)को १५ औ मन्त्रिस्तरिय बैठकमा भाग लिन बिम्स्टेक सदस्य मुलुकका बिदेशमन्त्री बिहीबार काठमाडौ आइपुगेका छन् ।
परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल तेज बहादुर क्षेत्रीले श्रीलंका बाहेक अन्य बिम्स्टेक मुलुकका बिदेशमन्त्री काठमाडौ अाँइसकेको बताए। श्रीलंका उप बिदेशमन्त्री शुक्रबार बिहान आउने तय भएको उनले बताए ।
बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुक्रबार काठमाडौमा आयोजना हुंदैछ । तर मन्त्रीस्तरीय बैठकको उद्घाटन बिहिबार सांझ ६ बजे होटल सोल्टिमा हुदैछ । प्रधानमन्त्री शेर बहादुर देउवाले होटल सोल्टिमा आयोजित समारोहमा बैठक उद्घाटन गर्ने कार्यक्रम छ ।
मन्त्रीस्तरीय बैठकले ‘बिम्स्टेक प्रोसेस’ लाई सुदृढ गर्ने बिषयमा छलफल गर्नेछ । बिम्स्टेकले पहिचान गरेका कनेक्टिभिटी विस्तार, आतंकवाद नियन्त्रण, ब्यापार, उर्जा लगायत १४ क्षेत्रमा सदस्य मुलुकबीच सहकार्य अघि बढाउने बिषयमा बैठकमा छलफल हुनेछ । बैठकको अध्यक्षता उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गर्नेछन् ।
बैठकमा नेपालले बिम्स्टेक चौंथो शिखर सम्मेलनको ठोस मिति प्रस्ताव गर्ने परराष्ट्रमन्त्री महराले जानकारी दिए ।
बिम्स्टेकको वर्तमान अध्यक्ष मुलुक नेपालले सन् २०१७ भित्र बिम्स्टेकको शिखर सम्मेलन आयोजना गर्ने तयारी छ । ‘प्रान्तीय र संसदीय चुनावभन्दा अघि नै बिम्स्टेक शिखर सम्मेलन आयोजना गर्ने हाम्रो सोच हो’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले अन्नपूर्णसंग भने । स्रोतका अनुसार अक्टोबर भित्र नेपालले बिम्स्टेक सम्मेलन गर्ने बिषयमा छलफल भइरहेको छ ।
बिम्स्टेकका नयां महासचिवको नियुक्तिबारेमा पनि छलफल हुने परराष्ट्र अधिकारीहरुले बताए । हालका महासचिव सुमिथ नाकान्दालाको पदावधि सकिन लागेको छ ।
बिहीबार बिहानै देखि १८ औं बिमस्टेक ‘सिनियर अफिसियल्स मिटिङ्’ जारी छ । परराष्ट्र सचिव स्तरमा जारी यो बैठकले मन्त्रीस्तरीय बैठकको एजेन्डा तय गर्नेछ । सचिव स्तरीय बैठकले बिम्स्टेक प्रबुद्द समूह गठन, बिम्स्टेक स्वतन्त्र ब्यापार सम्झौता, बिमस्टेक मुलुकबीच बिद्युतीय प्रशारण लाइन स्थापना सम्झौता लगायत बिषयमा छलफल गरी मन्त्रीस्तरीय बैठकमा निर्णयार्थ पेश गर्नेछ । परराष्ट्र सचिव शंकर दास बैरागीले बैठकको अध्यक्षता गरिरहेका छन् ।
बिम्स्टेकका बिदेशमन्त्रीले प्रधानमन्त्री देउवासंग सामूहिक भेट गर्ने समेत कार्यक्रम छ ।
बिम्स्टेक बिदेशमन्त्रीस्तरीय बैठकमा बंगलादेश, भुटान, भारत, श्रीलंकाका बिदेशमन्त्रीको सहभागिता रहनेछ भने थाइल्यान्ड र म्यानमारका उप बिदेशमन्त्री बैठकमा सहभागि हुनेछन् ।
भारतीय बिदेशमन्त्रीले उच्चस्तरीय भेट गर्ने
भारतीय बिदेशमन्त्री सुषमा स्वराजको भ्रमण बिम्स्टेक बैठकका लागि मात्र नभएर नेपालसँग द्विपक्षिय चासोका बिषयमा छलफल केन्द्रित रहने अधिकारीहरुले बताएका छन् । स्वराज मध्यान्ह १ बजे बिशेष बिमानबाट काठमाडौ उत्रिएकी थिइन् ।
उनले अपरान्ह ४ः३० बजे प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी देउवाको आसन्न भारत भ्रमणका एजेन्डा र तयारीबारे छलफल गर्नेछिन् । प्रधानमन्त्री देउवा भदौ ७ देखि ११ सम्म भारतको राजकीय भ्रमणमा जाने निश्चित भइसकेको छ ।
स्वराजले राष्ट्रपति बिद्यादेवी भण्डारी, र परराष्ट्रमन्त्री कृष्ण बहादुर महरासंग छुट्टाछुट्टै भेटवार्ता गर्नेछिन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली तथा मधेशवादी दलका नेतासंग पनि भिन्दा—भिन्दै भेट्ने तय भएको छ ।