साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स र बहरेनले आफूसँगको जारी व्यापार बहिष्कार गरेको भन्दै त्यस विरुद्ध कतारले विश्व व्यापार संगठन (डब्लुटिओ)मा 'उजुरी दर्ता' गरेको बताइएको छ।
विश्व व्यापार संगठनमा विवाद समाधानकालागि यो पहिलो औपचारिक कदम हो। यसको मतलब ती देशहरुले कतारसँग सहमतीका लागि छलफल गर्नुपर्ने छ।
तर यदी ६० दिन भित्र सहमती खोज्न नसके उक्त विवादले विश्व व्यापार संगठनले नियुक्त गरेको प्यानलमा प्रवेश पाउने छ।
समाचार संस्था रोयटर्सले सबैभन्दा पहिला उक्त उजुरी दर्ताबारे समाचार सम्प्रेषण गरेको थियो। विश्व व्यापार संगठनले भने आफूहरुले त्यस्तो कुनै उजुरी प्राप्त नगरेको बीबीसीलाई बताएको छ।
नाकाबन्दी
साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स र बहरेनले गत जून महिनामा आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै कतारमाथि नाकाबन्दी गरेका थिए।
उनीहरुले कतारी नागरिकलाई आफ्नो देश छाड्न १४ दिनको समयसीमा प्रदान गरेका थिए भने कतार जान र त्यहाँ बस्न आफ्ना नागरिकलाई प्रतिबन्ध गरेका थिए।
कतारले भने छिमेकी देशहरुले आफूहरुमाथि लगाएको आरोपको खण्डन गर्दै आएको छ र नाकाबन्दी अन्त्यका लागि अगाडी सारिएका शर्तहरु अस्विकार गरिरहेको छ।
इजिप्टले कतारसँग कुटनीतिक रुपमा सम्बन्ध विच्छेद गरेपनि उसले त्यहाँ रहेका १८०,००० कतारी नागरिकलाई कुनै किसिमको प्रतिबन्ध लगाएको छैन।
साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहरेन र इजिप्टले कतारी विमानलाई आफ्ना आकाशमाथि उड्नबाट समेत प्रतिबन्ध लगाएको छ। (BBC)