जर्मन चान्सलर एन्जेला मर्केलले युरोप अब अमेरिकासहितको पुरानो गठबन्धनमा पूर्ण रुपमा निर्भर रहन नसक्ने बताएकी छन्। केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोसम्बद्ध नेताहरुलाई सुरक्षा खर्च नतिरेको भन्दै प्रत्यक्ष गाली गरेपछि मर्केलले यस्तो भनाइ सार्वजनिक गरेकी हुन्।
‘हामी कोही अरुमाथि पूर्ण रुपमा निर्भर रहने समय अब समाप्त भएको छ,’ मर्केलले म्युनिखमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै भनिन्, ‘केही दिनयता मेरा अनुभवहरुको आधारमा म यति मात्रै भन्न सक्छु, हामी युरोपेलीहरुले आफ्नो भाग्य आफ्नै हातमा लिनुपर्छ।’
उनले अमेरिका, बेलायत, रुससहित सबै देशसँग युरोप असल मित्र बन्न सक्ने औँल्याउँदै भनिन्, ‘तर युरोपले आफ्नो भाग्य र भविष्यका लागि आफैँ लड्न आवश्यक छ भन्ने कुरा बुझ्नुपर्छ।’ एजेन्सी