चुवाका २४ वर्षीय राजन शर्माले गत शनिबार मात्र परिवारसँग फोनमा डेढ घन्टा बात मारेका थिए । बाबु दामोदरसहित आफन्तसँग दसैंमा घर फर्कने वाचासमेत गरे । तर, यो कुराकानीको १८ घन्टा नबित्दै दु:खद खबर आयो– ‘रविन कश्मीरका आतंकवादीहरूको सर्चिङमा पर्यो ।’
२०५० कात्तिकमा दामोदर र तिला शर्माको जेठा छोराका रूपमा जन्मिएका रविन सानैदेखि हठी स्वभावका थिए । बाबु भारतीय प्रहरीमा भएकाले भारतीय सेनामै जागिर खाने उनको धोको थियो । बाबु पेन्सन नआउँदै सन् २०१३ मा गोर्खा राइफलको १४ जीटीजे कम्पनीमा भर्ती हुन सफल उनले आफ्नो मात्रै नभई परिवारकै सपना पूरा गर्न पाएनन् । ‘मेरो पेन्सन राम्रै थियो । विवाहपछि नोकरी छाड्न निकै आग्रह गरें,’ पुत्रशोकले विछिप्त दामोदरले भने, ‘दसैंमा आउँछु त्यसपछि सल्लाह गरौंला भनेको थियो, बोली सेलाउन नपाउँदै छोड्यो ।’ सानैदेखि शालीन र भद्र स्वभावका उनको मृत्युले गाउँ नै शोकमा छ । गत पुस अन्तिम साता घरबिदामा आएका रविनले कास्कीको हेम्जा निवासी सविता शर्मासँग माघ ४ गते विवाह गरेका थिए ।
श्रीमतीसँग घुलमिल हुन नपाउँदै २१ गते फर्किएका उनले बिदा हुँदा मात्रै सातामा एक दिन फोनमा कुरा गर्ने गरेको बाबुले बताए । ‘अब दसैंमा अलि लामो समय बस्ने गरी आउँछु भन्दै थियो । दु:ख नगर भनेर धेरै सम्झाएँ, मलाई नै दु:ख दिएर गयो,’ बाबु दामोदरले भने । विवाहपछिको पहिलो दसैं मनाउन ससुरालीतर्फ पनि दसैंमा आउनेगरी कुरा हुने गरेको नजिकका साथी ठाकुर शर्माले बताए । (@Kantipur )