अमेरिका ।
अमेरिकामा अध्ययन गर्दै आएका पत्रकार नारायण श्रेष्ठलाई एक विश्वविद्यालयद्वारा सम्मानित भएका छन। मेरिल्याण्डको यूनिभर्सिटी अफ बाल्टिमोरबाट भर्खरै ‘ग्लोवल अफेयर्स’ विषयमा स्नातकोत्तर सकेका श्रेष्ठको अनुसन्धानबाट प्रभावित हुँदै विश्वविद्यालयले गत शनिबार एक कार्यक्रमका बिच सम्मान गरेको हो।
विद्यार्थी र प्राध्यापकहरुको उपस्थितिमा श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । सम्मान ग्रहण समारोहमा श्रेष्ठले आफ्नो दुई वर्ष लामो मेहनत र अध्ययन पुरस्कृत भएको बताए । ‘मैले नेपालको हिमालमा छिट्छिटो पग्लिएको हिउँ र हिमनदी देखेको छु । दश वर्ष लामो द्वन्द पनि देखेको छु ।‘ समारोहमा श्रेष्ठले भने, ‘त्यही ठाउँको नभए पनि मैले जलवायु परिवर्तन र मानवीय द्वन्दको सम्बन्धका बारेमा खोज अनुसन्धान गर्ने मौका पाएं।
स्नातकोत्तर अध्ययनका क्रममा उनले संसारका विभिन्न देशमा भएका द्वन्दका घटनामा जलवायु परिवर्तनको प्रभाव कस्तो पर्छ भनेर खोज अनुशन्धान गरेका थिए । सुडानको डार्फर क्षेत्रलाई उनले ‘केस स्टडी’ का रुपमा लिएका थिए । बढ्दो तापक्रम र घट्दो वर्षा मानवीय द्वन्दका घटनाहरुसंग संबन्धित भएको त्यो अनुशन्धानमा देखिएको थियो।
उक्त अनुशन्धानलाई उत्कृष्ठ अनुशन्धान ठहर्दै विश्वविद्यालयले उनलाई सम्मानित गरेको हो । विश्वाविद्यालयले यसै वर्षदेखि विद्यार्थीहरुको उत्कृष्ट अनुसन्धानलाई सम्मानित गर्ने परम्परा सुरु गरेको बताएको छ । उक्त विश्व विद्यलायमा यो अवार्ड पाउने नारायण श्रेष्ठ पहिलो विद्यार्थी हुन । श्रेष्ठको सम्मानलाई विश्वविद्यायले आफ्नो भित्तामा स्थायी रुपमा समेत राखेको छ ।
बीबीसी नेपालीमा आबद्द पत्रकार श्रेष्ठ सन २०१४ को मध्यमा अमेरिका आएका हुन । उनले सञ्चालन गरेको बहस कार्यक्रम ‘साझा सवाल’ नेपाली दर्शक श्रोतामाझ निकै रुचाईएको थियो ।