दक्षिण कोरियाका नयाँ राष्ट्रपतिले भने- म उत्तर कोरिया पनि जान्छु

Everest Fuji News २०७४ बैशाख २७ मा प्रकाशित       Published at 2017 May 10


दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जेइले कोरियाली द्वीपमा शान्ति स्थापनाका लागि उत्तर कोरिया पनि भ्रमण गर्ने बताएका छन् । बुधबार राष्ट्रपतिको सपथ ग्रहण गर्दै जेइले अर्थतन्त्र मजबुत पार्ने, देशलाई भ्रष्टाचार मुक्त गर्ने र उत्तर कोरियासँग सम्वन्ध सुधार्ने बताए। ‘शान्तिका आवश्यक परेमा म तुरन्तै वाशिङटन जान्छु,’ मुनले भनेका छन्, ‘म बेजिङ, टोकियो र उत्तर कोरियाको राजधानी प्योङयाङ पनि जान्छु।’ नयाँ राष्टपति मुनको उक्त भनाइले कोरियाली द्वीपको वर्तमान भू-राजनीतिक समीकरण बदल्ने संकेत गरेको छ। अमेरिका र दक्षिण कोरियाले अहिलेसम्म उत्तर कोरियालाई आफ्ना देश र विश्व शान्तिका लागि चुनौतीका रूपमा लिने गरेका छन्। त्यसैले उत्तर कोरियाप्रति उनीहरुले कठोर नीति लिएका छन्। अब दक्षिण कोरियामा उदारवादी नेता राष्ट्रपतिमा निर्वाचित भएपछि उनको उत्तर कोरियाप्रतिको नरम नीतिले कसरी काम गर्नेछ भनेर हेर्न बाँकी छ। हालै उत्तर कोरियाप्रति आक्रामक ढंगले प्रस्तुत भएको डोनाल्ड ट्रम्प सरकारले दक्षिण कोरियाको सम्भावित नयाँ नीतिलाई कसरी हेर्छ भनेर हेर्न बाँकी नै छ। पूर्वराष्ट्रपति पार्क गेउन-हे भ्रष्टाचार मुद्दामा महाअभियोगमार्फत पदमुक्त भएपछि सम्पन्न निर्वाचनमा जेइ विजयी भएका हुन्। मुनका बाबुआमा उत्तर कोरियाबाट भागेर शरणार्थीका रुपमा दक्षिण कोरिया आएका थिए । कानुन व्यवसायी हुनुअघि मुनले दक्षिण कोरियाको सेनामा काम गरेका थिए। कोरियाली द्वीपको भू-राजनीति अत्यन्त संवेदनशील मानिन्छ। त्यहाँ हुने द्वन्द्वले आणविक युद्ध पनि निम्त्याउन सक्ने सम्भावना रहेको छ। अहिले अमेरिकाले दक्षिण कोरियामा मिसाइल प्रतिरक्षा प्रणाली स्थापना गरेको छ भने उत्तर कोरियाले जापान र दक्षिण कोरियामा रहेका अमेरिकी सैन्य अखडालाई आणविक अस्त्रमार्फत आगोको ज्वालामा रुपान्तरण गर्ने धम्की दिएको छ। कोरियाली द्वीपमा शान्ति स्थापनाका लागि आफूले सकेको सबै काम गर्ने जेइले बताएका छन्


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.