उत्तर कोरियाको क्षेप्यास्त्र असफल

Everest Fuji News २०७४ बैशाख १७ मा प्रकाशित       Published at 2017 Apr 30


अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताएको केही समयपछि उत्तर कोरियाले परीक्षण गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण असफल भएको छ । दक्षिण कोरिया र अमेरिकी अधिकारका अनुसार उक्त क्षेप्यास्त्र उडेको केही समयपछि नै विस्फोट भएको थियो । यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो । उक्त कोरियाको राजधानी प्योङयाङबाट उत्तरमा पर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समयानुसार शनिबार बिहान ०५:३० मा गरेको यो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो । उत्तर कोरियाले यसबारे केही बताइसकेको छैन । दक्षिण कोरियाली सैनिक स्रोतका अनुसार क्षेप्यास्त्रका प्रकृतिलगायत विस्तृत विवरण अझै पनि अनुसन्धारत नै छ । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिएका थिए । कूटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यस प्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पले जनाएका छन् । यसअघि नै अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अर्को परमाणु परीक्षण गरेमा उत्तर कोरियालाई चीनले प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उता उत्तर कोरियाले भने अमेरिकामाथि हमलाको परिकल्पना गर्दै एउटा काल्पनिक भिडियो सार्वजनिकसमेत गरेको थियो । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार गर्ने परमाणु परीक्षण कार्यक्रम आफ्ना लागि ठूलो विश्वव्यापी चिन्ताको विषय भएको बताएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङलाई एक जना असल व्यक्तिको संज्ञा दिँदै उनले आफ्नो अटेर गर्ने छमेकीलाई दबाब बढाइरहेको पनि ट्रम्पले जनाएका छन् । यसैबीच, उत्तर कोरियाले आफ्नो मुख्य साझेदार मुलुक चीन र चिनियाँ राष्ट्रपति सी जिनपिङको अपमान गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । उत्तर कोरियाले एक महिनाभित्र तेस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेपछि ट्रम्पको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो । अमेरिकी विदेशमन्त्री रेक्स टिर्सनले शुक्रबार मात्रै प्योङयाङको क्षेप्यास्त्र र पारमाणविक कार्यक्रमलाई लिएर अन्तर्रास्ट्रिय समुदायले कुनै सहमति नगरेमा उत्पन्न हुने सम्भावित खतराबारे संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई चेतावनी दिएका थिए । दक्षिण र उत्तर कोरिया दुवैले सैन्य अभ्यासहरू जारी राख्दा कोरियाली प्रायद्वीपमा हालैका दिनमा तनाव बढेको छ । उत्तर कोरियाले अमेरिकासम्म प्रहार गर्न सक्ने परमाणु अस्त्र विकास गर्ने प्रयास गरेको छ ।राष्ट्रसंघको सुरक्षा परिषदमा बोल्दै अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न विश्व असफल भए त्यसले घातक परिणाम ल्याउने चेतावनी दिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.